इस्कोन बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमी महामहोत्सव

विकास तिमल्सिना

इस्कोन बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमी महामहोत्सव मनाइएको छ । श्रीकृष्णको स्तुती, अभिषेक, भजन–किर्तन, प्रवचत तथा सांगीतिक कार्यक्रम सहित श्रीकृष्ण जन्माष्टमी महामहोत्सव मनाइएको हो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री वादेले संस्कृति र सभ्यता संरक्षणको लागि इस्कोनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । धर्मले सभ्यता र संस्कारसहित अनुशासन समेत सिकाउने उनले बताए । वर्षौदेखि चलिआएको परम्परा नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि यसप्रकारका कार्यक्रमले विशेष भूमिका खेल्ने उनको भनाई छ ।

कार्यक्रममा इस्कोन बारेको जानकारी सहित इस्कोन बनेपाले गरिरहेका कार्य समेटिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । वैदिक सनातन धर्म इस्कोन विश्वव्यापी छ । काभ्रेमा २०७१ साल फागुन १ गते पहिलोपटक जगन्नाथ रथ यात्रा भएसँगै इस्कोन सुरुवात भएको मानिन्छ ।

श्रीमद्भागवतम् र भगवत गीताको ज्ञान विश्वभर विभिन्न भाषामा फैलिरहेको छ । बदलिँदो समयअनुसार अत्यन्तै व्यस्त रहेका मानिसहरुलाई भगवानप्रति समर्पित गराउनको लागि इस्कोनले काम गरिरहेको इस्कोन बनेपा उपाध्यक्ष अनिता रिशाल (लज्जालोचन) ले बताइन् । इस्कोनले देशका विभिन्न ठाउँमा गौशाला, गुरुकुलहरु समेत सञ्चालन गरेको छ ।

महामहोत्सव कार्यक्रममा प्रवचक मधु भिसा दास, स्कोन काभ्रेका उपाध्यक्ष गोपाल कृष्ण श्रेष्ठ, इस्कोन बनेपाका सचिव श्रीकृष्ण खाँछी भोया, रसतव् दास, उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, पत्रकार लक्ष्मण तिमल्सिना लगायतले इस्कोनका बारेमा धारणा राखेका थिए ।

यसैबिच इस्कोन बनेपाले आगामी असोज ६ गते घटस्थापनाको दिन जगन्नाथ रथयात्रा आयोजना गरेको छ । पनौतीबाट सुरु हुने रथ यात्रा बनेपा बजार परिक्रमा गरेर विविध कार्यक्रम सहित समापन हुनेछ । रथयात्रामा काभ्रे सहित देशका अन्य जिल्लाबाट समेत भक्तजनको उपस्थिती रहने इस्कोन बनेपाले जनाएको छ ।