पाँचखालमा आसपाल प्लान्ट उद्योग स्थापना विरुद्ध नेपाली काँग्रेस बाहेकका पाँच दल, संर्घष समिति बनाएर चरणवद्ध आन्दोलन

पाँचखाल/नेपाली काँग्रेस बाहेक पाँचखालमा कृयाशिल रहेका पाँचवटा राजनीतिक दलले वातावारण मैत्री नहुने भन्दै आसपाल प्लान्ट उद्योग स्थापना गर्ने तयारीको पूर्ण रुपमा विरोध गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर स्तरका कमिटीहरुले विज्ञप्ती नै प्रकाशन गरी उद्योग स्थापना वातावरणमैत्री नहुने भन्दै त्तकाल प्रकृया अघि नबढाउन आब्हान गरेका छन् ।


केहि दिन अघि स्थानीय स्तरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई समेत हुन नदिएका स्थानीयहरुलाई राजनीतिक दलहरुले साथ दिदै वातावरण मैत्री नहुने भन्दै आसपासल प्लान्ट उद्योग स्थापनाको विरोध गरेका हुन् । पाँचखालमा इट्टा भट्टा नागरिकहरुको चाहना विपरित स्थापना भएको, सर्वाेच्च अदालत समेतले वातावरण मैत्री नभएकाले बन्द गर्न निर्देशन दिएको भए पनि संचालन भईरहेको र नागरिकहरुको स्वास्थ्यमा संकट बढिरहेको भन्दै स्थानीयहरुले स्वतन्त्र रुपमा विरोध गर्दै आएका थिए ।

नागरिकहरुको भावनालाई कदर गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले उक्त कदमको विरोध गरेका हुन् । ‘स्वच्छ वातावरण, धार्मिक सम्पदा र स्वास्थ्य जोगाउन आफै जुटौ’ भन्ने अभियानका साथ स्थानीय युवाहरुले स्थानीय राजनीतिक दल, नगरपालिका, जिल्ला स्थित विभिन्न कार्यालयहरु र त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई समेत ज्ञापन पत्र बुझाएका थिए । भदौ २ गते सोमबार विशेष आर्थिक क्षेत्र सेजको भवन परिसरमा नगरबासिहरुको तर्फबाट विरोध सभा आयोजना गरिएको संयोजक सागर लामाले बताए । वातावरण संरक्षण संघर्ष समिति गठन गरी विरोधका कार्यक्रम चरणवद्ध शुरु गरिएको उनले बताए । उक्त समितिलाई नेपाली काँग्रेस बाहेक अन्य पाँच राजनीतिक दल, नेता कार्यकर्ताहरुको समर्थन रहेको छ ।


पाँचखाल वडा नम्वर ८ का स्थानीयहरुले वातावरण संरक्षण समिती बनाएर उक्त वडामा रहेको पवित्र धार्मिक स्थल सुवर्णेश्वर मन्दिर परीसर नजिकै सञ्चालनमा आउन लागेको आसपाल प्लान्ट बन्द गरी पर्यावरण, धार्मीक आस्था र जनस्वास्थ्यको संरक्षण गर्न ज्ञापन पत्र बुझाएका थिए । वातावरण संरक्षण नियमावली २०७७ अनुसार प्लान्ट सञ्चालनमा ल्याउन मन्दिर, खोला र वनबाट हुनुपर्ने दुरी समेत कायम नगरेको, स्थानियको स्वास्थ्यमा खेलवाड गरिएको र कृषी जमिनमा समेत हानी पुग्ने गरी प्लान्ट राख्न लागिएको भन्दै स्थानीयले उक्त प्लान्टको बिरोध गरेका हुन् ।