विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् ।

इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव पहलमा जुटिरहेको प्रधानमन्त्री ओलीले बताए ।

सोमबार बिहान फेसबुकमा स्ट्याटस राख्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए। विपिनको रिहाइका लागि आफुले गत फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल र चैत ७ गते टर्कीका राष्ट्रपती रेसेप तैयप सँग यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उनले बताए ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी छेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

आइतबार मात्रै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेर हमासद्वारा बेपत्ता बनाइएका विपिनको रिहाइका लागि पहल गरिदिन माग गरेका छन् । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोग समक्ष आफ्नो दाइलाई हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन्।

जोशीको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन प्लेकार्डसहित सहभागी हुनुभएको थियो । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजि गर्न गत सोमबार मात्रै विपिनका आमा र बहिनी इजरायल गएका थिए ।