निजामती विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल शुरू
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल शुरू भएको छ ।
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरू भएको हो । यो विधेयक भदौ १७ गतेभित्र सभाबाटै पारित गरिसक्नुपर्ने दबाव छ ।
यो विधेयक गएको असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको हो । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेपछि राष्ट्रियसभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरेर वा सुझावसहित फिर्ता पठाउनुपर्ने संवैधानिक बाध्यता छ ।
६० दिनभित्र राष्ट्रियसभाले विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले तत्काल कायम रहेको सङ्ख्याको बहुमत सदस्यहरूको निर्णयबाट प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
विधेयकमा रहेको कुलिङ अफ पिरियड का सम्बन्धमा प्रतिनिधिसभाको समितिबाट पारित भएको भन्दा फरक कुरा परेको भन्दै विवाद भएपछि राष्ट्रियसभामा छलफल शुरू गर्न ढिलाइ भएको हो ।
संसदीय छानबिन विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिइसकेका छन्। यस्तै सभामुख देवराज घिमिरेले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि १४ वटा राजनीतिक दल र चार वटा सरकारी निकायमा पठाइसकेका छन् ।






