कर्जा लगानीमा सहकारी संस्थाले आफ्नो स्रोत र सम्भावनालाई बुझ्न पर्छ
नेपालको अहिलेको जटिल आर्थिक अवस्थामा सहकारी संस्थाहरूले मात्र होइन बैङ्क तथा वित्तीय संस्थाहरूले पनि कर्जा प्रवाह गर्न सकेका छैनन् । देशमा लगानीको वातावरण छैन मानिसहरु ठूला साना सबै खालका लगानीका लागि डराइरहेका छन् सहकारी एवं बैंक तथा वित्तीय क्षेत्रमा बचत रकम अर्थात् तरलता बढिरहेको अवस्था छ जसका कारण बचतमा ब्याज दर कम भइरहेको छ भने ऋणको ब्याजदरमा कम दर हुँदा पनि कर्जा लगानी हुन सक्ने अवस्था छैन । जसले गर्दा सहकारी क्षेत्र एवं बैंक तथा वित्तीय क्षेत्र चिन्तित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
यस्तो अवस्थामा सहकारी संस्थाहरूले अलि फरक ढङ्गले सोच्नुपर्ने देखिन्छ । किनभने बचत सङ्कलन र कर्जा प्रवाहको कार्य दुवैको एउटै जस्तो भए पनि बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा धेरै फरक छ । बैंक तथा वित्तीय संस्थाका लागि एउटा व्यक्ति आर्थिक कारोबार गर्ने ग्राहक मात्र हुन सक्दछ भने सहकारी संस्थाका लागि एउटा व्यक्ति त्यस संस्थाको हकवाला सेयर सदस्य अथवा भोलिका दिनमा सम्भावित अध्यक्ष हुनसक्ने क्षमता राख्ने हैसियतमा रहन्छ । मलाई लाग्दछ एउटा ग्राहकले बैंकलाई हेर्ने नजर र एउटा सदस्यले सहकारी संस्थालाई हेर्ने नजरमा धेरै फरक हुन्छ । सहकारी संस्थाप्रति एउटा व्यक्तिको जस्तो आत्मीयता हुनसक्छ बैंक तथा अन्य वित्तीय संस्थाप्रति त्यस्तो आत्मियता देखिँदैन । सहकारी संस्थाहरूको सन्दर्भमा यही कुरालाई अथवा यही विशिष्टतालाई हामीले मनन गर्नुपर्ने देखिन्छ जसले गर्दा अहिलेको यो अवस्थामा पनि सहकारी संस्थाले मनग्य कर्जा लगानी गरेर आफ्ना सदस्यको हित गर्न सक्छ र संस्थालाई सबल बनाउन सक्छ । अहिलेको जटिल अवस्था बाधा मात्र होइन प्रगतिको नयाँ द्वार पनि हुन सक्दछ । लगानीको सुस्त गति र बजारको अनिश्चितताले सहकारी क्षेत्रलाई कर्जा प्रवाहमा ठूलो चुनौती दिइरहेको छ तर इतिहासले देखाएको छ संकटको बेला नवप्रवर्तन र वैकल्पिक सोच अपनाउनेहरूले मात्र आफूलाई टिकाउन सक्दछन् र सफलता पाउन सक्दछन् । अघि मैले भने जस्तै सहकारीका लागि सहकारीका सदस्यहरू नै सम्भावनाका द्वारहरू हुन् ।
बजार अनिश्चित छ लगानी भएको छैन भनेर कराउनु भन्दा आफ्ना सदस्य जो सम्भावनाका स्रोतहरू हुन् उनीहरूको सर्वेक्षण गर्नुप¥यो । उनीहरूको आवश्यकतालाई बुझ्नुप¥यो । उनीहरुले गर्ने लगानीलाई बुझ्नुप¥यो । यसका लागि संस्थाले आफ्ना सदस्यहरुलाई नै अध्ययन गर्नुप¥यो । जसले गर्दा सहकारीका लागि यो समय बाधा अप्ठ्यारो भन्दा पनि अवसरको ऋतु बन्नेछ किनकी बैंकिङ क्षेत्रले उच्च सुरक्षा र ठूलो जमानत मागेर सिमित मात्रामा सीमित व्यक्तिहरूलाई कर्जा प्रवाह गरिरहेका छन् । साना साना जोखिम रहित कर्जा प्रवाहको जुन खाडल छ त्यो खाडल सहकारी संस्थाले भर्न सक्दछ । सहकारीको सदस्य केन्द्रीत संरचना यस खालको खाडल भर्ने उपयुक्त मोडल हुन सक्दछ। यसै सन्दर्भमा अहिलेको अवस्थामा सहकारी संस्थाले यस्ता खालका अवसरहरू कसरी देख्न सक्दछ त यसतर्फ जाउँ ।
सानो–सानो तर प्रभावकारी क्षेत्रमा ध्यान: सहकारी संस्थाले अहिलेको अवस्थामा ठूला परियोजनाहरूमा भन्दा साना व्यवसाय, घरेलु उद्योग, कृषि, पशुपालन, हस्तकला, सेवा जस्ता क्षेत्रमा लक्षित कर्जा प्रवाह गर्न सक्छ । न्यून पुँजीमा छिटो आम्दानी दिने परियोजनामा कर्जा प्रवाह गर्न सक्छ ।
समूहमा आधारित जमानत प्रणालीमा कर्जा प्रवाह: हुन त कतिपय सहकारी संस्थाहरूले यो प्रणालीलाई अवलम्बन गरिरहेका छन् । यस प्रणालीले खराब कर्जाको जोखिमलाई हटाउन धेरै मद्दत गर्दछ । समूहको आपसी विश्वास र सामाजिक दबावले कर्जा तिर्ने संस्कारको विकास हुने कारण व्यक्तिगत जमानत भन्दा सदस्य समूहले सामूहिक रूपमा कर्जा लिने र तिर्ने जिम्मेवारी लिने यस्ता खालका मोडललाई लागू गर्दा अत्यन्तै राम्रो हुन्छ ।
मौसमी र प्रोजेक्टमा आधारित कर्जा प्रवाह: सदस्यहरूले गर्ने मौसमी खेती, पर्व विशेष व्यापार वा अल्पकालीन उत्पादन कार्यमा ऋण प्रवाह गर्ने र कर्जा तिर्ने समय उत्पादन एवं सेवा बिक्री चक्रसँग मिलाएर तोक्ने ।
बजारीकरणमा सहकार्य: सदस्यले उत्पादन गर्ने सामग्रीको संकलन प्रशोधन बजारसम्म पु¥याउन सहकारीकै भूमिका भयो भने अझै राम्रो हुन्छ यसले सदस्य र संस्था बीचको सम्बन्ध पनि प्रगाढ बनाउन मद्दत पुर्याउँदछ ।
शिप विकास र रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रमहरू बनाउने: संस्थाले ऋणसँगै सिपमूलक तालिम प्राविधिक सहयोग र बजारमा कृषक एवं साना उद्योगी व्यापारीको पहुँच उपलब्ध गराउनलाई सहयोग पु¥र्याउने तथा ऋण लिने सदस्यलाई आत्मनिर्भर र व्यावसायिक बनाउन सघाउने जस्ता कार्य पनि गर्न सक्दछ जसले गर्दा सदस्य र संस्था बीचको सम्बन्ध दिगो असल हुन मद्दत पुर्याउँदछ ।
स्थानीय स्रोत साधन र उत्पादनको प्रयोगमा जोड दिने: बाहिरी आयातमा भर नपरी स्थानीय कच्चा पदार्थ सीप र उत्पादन बजारलाई प्रोत्साहन दिने परियोजनामा कर्जा प्रवाह गर्न जोड दिने । जस्तै आफ्नो गाउँ, नगरपालिका वा जिल्लामा सजिलै पाइने कच्चा पदार्थलाई प्राथमिकता दिने उदाहरणका रुपमा गाउँमा हुने दुधलाई प्रशोधन गरेर दही, घिउ, पनिर बनाउने, स्थानीय बाली मकै, गहुँ, तोरी, धान एवं सिजनल फलफुलबाट खाद्य उत्पादन गर्ने, गाउँ समुदायका मानिससँग भएका परम्परागत सीप लाई व्यवसायमा बदल्ने, उत्पादित सामानहरूलाई बेच्नका लागि नजिकै गाउँ वा नजिकको सहर मा बजारको प्रबन्ध गर्ने, सहकारी मार्फत सामुहिक बिक्री गर्ने व्यवस्था मिलाउने ।
अब सहकारी संस्थाका लागि खास गरेर सम्भावित कर्जा प्रवाहका क्षेत्रहरू के के हुन सक्छन् त्यसमा जाउँ । सम्भावित कर्जा प्रवाहका क्षेत्रहरू जस्तै कृषि मा आधारित सुक्ष्म परियोजना अन्तर्गत जैविक तरकारी, मौसमी फलफुल, मत्स्यपालन, पशुपालन, पोल्ट्री फार्म पर्दछन् भने सिपमा आधारित उत्पादनमा ढाका बुनाई, हस्तकला, माटोका भाडाकुडा, सिलाई, बुनाई पर्दछन् त्यस्तै स्थानीय सेवा व्यवसायमा मोबाइल मर्मत, साइबर सेवा, सानासाना क्याफे, चियापसल, खाद्यान्न पसल, डेरी उद्योग, साना कुटानी पिसानी उद्योग अन्य विभिन्न खालका घरेलु उद्योगहरू आदि पर्दछन् । त्यस्तै नवीकरणीय ऊर्जा सूक्ष्म परियोजना अन्तर्गत सोलार, बायोग्यास, माइक्रोहाइड्रोहरूमा लगानी गर्न सक्दछन् ।
निष्कर्षमा कुरा गर्दा हालको आर्थिक चुनौती र लगानीको कम वातावरणले सहकारी क्षेत्रलाई केही कठिनाइ भएको भए पनि यसलाई केवल अवरोध समस्या मात्र होइन अवसर र उपलब्धिको रुपमा लिएर साना र व्यवहारिक परियोजना, समूहमा आधारित कर्जा, मौसमी व्यवसाय, बजारीकरणमा सहायता र सीपमा आधारित रोजगारीमा जोड दिँदै सहकारीले आफ्ना सदस्यहरूको आयस्तर बढाउन र उनीहरूलाई सहज वित्तीय पहुँच प्रदान गर्न सक्छ । जिम्मेवार र नैतिक नेतृत्व, पारदर्शी व्यवस्थापन र सदस्य केन्द्रित नीति अपनाइएमा सहकारी संस्थाले न केवल स्थायित्व मात्र प्राप्त गर्नेछ बरु समुदाय र देशको आर्थिक सबलीकरणमा अझै महत्वपूर्ण योगदान पुर्याउन सक्नेछ ।





