हाम्रो जन्मदिन: बढ्दो आगन्तुक पश्चिमा संस्कृति

होम प्रसाद चौंलागाँईं
जन्मदिनलाई व्यक्तिले यस पृथ्वीमा पाइला टेकेको दिनको रूपमा बुझ्ने गरिन्छ । त्यस हिसाबले हेर्दा प्रत्येक दिन हरेक मान्छेको जन्म भैरहेको हुन्छ । जब आमाको गर्भमा झण्डै एक वर्ष हुर्किएपछि पृथ्वीमा व्यक्तिको पदार्पण हुन्छ त्यसैलाई व्यक्तिको जन्म भएको दिन मान्ने गरिन्छ । आमाको गर्भमा नै हाम्रो शरीर र चेतनाको विकास भइसकेको हुन्छ । सायद त्यहि तथ्यको बोध गबिभिन्न तर्कहरु देख्न सकिन्छ ।

पूर्वीय दर्शनमा मानिसमात्र भौतिक शरीर होइन । मानिस भौतिक स्वरूपभन्दा माथि नित्य, चैतन्य छ । मानिस आत्मारूपी भौतिक पदार्थ हो । हाम्रो शरीर एकदिन मरेर जान्छ । त्यसैले शरीरको जन्म भएको मान्ने गरिन्छ । मानव शरीरलाई चलाउने तत्व आत्मा अमर छ । न कहिल्यै जन्मिन्छ, न त मर्छ नै । जसले आत्मालाई बोध गर्ने गर्दछ उसलाई मृत्युको भय हुँदैन ।

भागवत गीताको अनुसार आत्माको अवयव हुँदैन, त्यसैले आत्मालाई अस्त्रशस्त्रले काट्न सकिँदैन, आगोले पनि जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन अनि हावाले सुकाउन सक्दैन । हामी किन व्यर्थ चिन्ता गर्छौं ? कोसँग ब्यर्थ डराउँछौ ? कसले हामीलार्ई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ न त मर्छ नै ! श्रीमद्भगवद गीतामा श्रीकृष्णले अर्जुनलाई सम्झाएका वाक्यहरु मर्मस्पर्शी छन् । यस हिसाबले आत्मालाई अमर मानिएको छ ।
अर्को रोचक कुरा के छ भने, केकमा मैनबत्ती राखेर जलाइन्छ, अनि फुकेर निभाइन्छ । अग्निलाई पूर्वीय मान्यतामा भगवान् स्वरूप मानिन्छ । त्यति मात्र नभएर दियोलाई फुकेर निभाउनु हुँदैन भन्ने पूर्वीय मान्यता छ । अग्निले अग्रपथको संकेत गर्छ, अगाडि बढ्ने प्रेरणा दिन्छ । उज्यालो भविष्यको प्रतीक हो अग्नि । उपनिषद्मा पनि भनिएको छ–‘तमसोमा जोर्तिगमय’ अर्थात् मलाई अन्धकारबाट उज्यालोतर्फ लैजाऊ । यो अन्धकार, अशिक्षा, अज्ञानतारूपी संसारबाट उज्यालो, स्वच्छ, ज्ञानरूपी भविष्यतर्फ लैजाऊ । भन्ने एकाथरी र गर्ने अर्कोथरी त्यो राम्रो कुरा हुन सक्दैन । अग्नीलाई निभाएर शुभ कार्य सम्भव सम्पन्न हुन सक्दैन ।
आजकाल जन्मदिनको अवसरमा केक काट्ने बेला चुच्चे टोपी लगाउने चलन पनि अचम्मको छ । क्रिश्चियनहरूले जिसस क्राइष्टको जन्मदिनको अवसरमा लगाउने टोपी कट्टर हिन्दु हुँ, सनातनी हुँ भन्नेहरूले समेत लगाएर जन्मदिन मनाइरहेका हुन्छन् । हुनतः पोशाकसँग धर्मलाई जोड्न त अतिवादी सोच होला तर लगाउनुको उद्देश्य के हो भन्ने नबुझीकन पोशाक लगाउनु फगत अन्धविश्वास नै हो । जन्मदिनको नाममा राति १२ बजे उठेर शुभकामना दिने तथा केक काट्नेसम्मको कार्य गर्न थालिएको छ ।
कतिपय सन्दर्भमा जानेर त कतिपय सन्दर्भमा अन्जामा समेत हामी वदेशी अर्थात पश्चिमा संस्कार र संस्कृतिको दास बनिरहेका छौं । गोरो छाला भएकाले जे गरे त्यो हाम्रा लागि वैज्ञानिक हुन्छ त्यो भान पर्न थालेको छ । युरोपबाटै भित्रिएको केक काट्ने चलन यहाँ पनि संस्कृति बनिसकेको छ । युरोपका अधिकांश देशहरूमा ६ देखि ८ महिनासम्म घाम लाग्दैन, कति देशहरूमा सूर्य नै अस्ताउँदैन । त्यसैले उनीहरूका लागि के बिहान, के साँझ, के रातिको १२ बजे, के बिहानको ६ बजे, प्रायः दिउँसोभर काम सकेर रातिमात्र पारिवारिक भेटघाट खुशीयाली मनाउने चलन हुन्छ । तर, हाम्रो देशमा त शुभ कार्यहरू प्रायः बिहानमा गर्ने गरिन्छ । जन्मदिनलाई शुभ दिन मान्नकै लागि पनि बिहानीको छुट्टै मत्व रहेको छ ।
जन्मदिनको दिन रातिसम्म क्याफे, रेष्टुराँहरूमा सेलिब्रेसन गर्ने, सेलिब्रेसनको नाममा अत्याधिक तामसिक भोजन, माछा, मासु, रक्सी, हुक्का पिउने चलन बढ्दो छ । साथीभाइहरू माझ कसले बढी खर्च गरेर जन्मदिन मनाउने भन्ने होडबाजी नै चल्छ । आम्दानी नभएकाले ऋण खोजेरै भए पनि भड्किलो जन्मदिन मनाउने चलन वढ्न थालेको छ । हाम्रो देशमा औसत एक घरमा ६ जनाको परिवार छ । अब सबैले जन्मदिन मनाउने हो भने एक वर्षमा ६ वटा जन्म दिन मनाउनुपर्ने हुन्छ ।
एकजनाको जन्मदिनमा औषत १५ हजार खर्च भए पनि वर्षमा ९० हजार खर्च हुन्छ । त्यसरी हेर्दा औषत रुपमा एक वर्षमा एक लाख । नेपालीको औषत आयु ७० वर्ष छ । यसरी एउटा परिवारले ७० लाख रुपैयाँ त जन्मदिनमा खर्च गर्छ । हुनतः परिवारसँग बसेर रमाइलो गर्ने, भोज भतेर गर्नु धेरै राम्रो कुरा हो तर बाहिर परिवारविना जन्मदिन मनाउने चलनकै कारण कैयौं युवायुवतीलाई लागूऔषध दृव्र्यसनमा समेत धकेलेको छ ।
विद्यालयका साना नानीबाबुहरूको पाठ्यक्रममै ‘हृयाप्पी बर्थडे’ भनेर कोर्ष नै राखिनु सुखद सन्दर्भ हुन सक्दैन । अचेल अधिकांश विद्यालयमा शिक्षक, विद्यार्थीहरूको जन्मदिन मनाउने गरिन्छ । जन्मदिनलाई यति महत्व दिनुभन्दा पनि भागवात् गीताका श्लोकहरू सिकाएर आध्यात्मिक चेतना विस्तार गर्न सकिन्छ । हुनत जन्मदिनको रूपमा विकृति सँससँगै केही रचानात्मक कार्यहरू पनि सुरु हुँदै नभएका पनि नभएका होइनन् । जन्मदिनको अवसरमा रूख रोप्ने, वृद्धाश्रम, बालाश्रममा गएर खाद्यान्न, लत्ताकपडा बाँड्ने, विद्यालयमा अक्षयकोष स्थापना गर्ने आदि जस्ता कार्यहरु पनि हुने गरेका छन् । यसलाई केही हदसम्म सकारात्मक कार्यका रूपमा लिन सकिन्छ ।
मानिस प्रायः धेरै कुरामा बहाना खोजिरहेको हुन्छ । एक्लै कार्य सम्पादनमा उत्रन प्रायः डराउँछ । जन्मदिनको उपलक्ष्यमा भए पनि दान, सेवा गर्ने भावना जागृत हुनु राम्रो पक्ष हो । त्यसैले जन्मदिनलाई साँच्चिकै उत्सवको रूपमा मनाउने हो भने हाम्रो पूर्वीय दर्शनअनुसार तिथिको आधारमा जन्मदिन मनाउने र पारिवारिक जमघट गरी मितव्ययी तरिकाले उत्सव मनाउँन सकिन्छ । यदि व्यक्ति सम्पन्न परिवारको छ भने समाज सेवा गरेर जसलाई हातमुख जोर्न समस्या छ उनीहरूलाई सहयोग गरेर मनायो भने पक्कै पनि मानव भएर यस धर्तीमा जन्म लिएको सार्थक हुन सक्छ ।
कतिपय सन्दर्भमा त आजकालका मानिसहरु वाध्यात्मक ढंगले समेत जन्म दिन मनाउँ विवश भएको देख्न सकिन्छ । चलन चल्तीमा रहेका बिभिन्न सामाजिक संजालहरुले व्यक्तिको जन्मदिनको सूचना नै जारी गरिदिन्छ । सामाजिक संजाल र सूचना प्रविधिमा जोडिएका मानिसहरुले आफ्नो जन्मदिन लुकाउन छिपाउन र नभन्न समेत पाइरहेका हुँदैन । आफ्नो जन्म दिनको बारेमा चाहिनेभन्दा वढी ओपन सेक्रेट हुने कुरालाई राम्रो मान्न सकिन्न ।
यसै सन्दर्भमा भदौ ४ गते मेरो जन्म दिन परेको थियो, यो वर्षैसाल पर्छ । विहानदेखि नै शुभकामना र शुभेच्छा प्रकट गर्दै साथीभाइ, इष्टमित्र लगायत बिभिन्न महानुभावहरु लाग्नु भएको देखियो । सबैलाई भ्याएसम्मको हृदयदेखि नै धन्यवाद दिएँ र दिन चाहन्छु । मैले संस्कृति मिचेको छैन । आजसम्म मेरो हातबाट एउटा केकपनि कटेको छैन । विहान उठेर आमाको हातबाट टीका र आशिर्वाद ग्रहण गर्दै जन्मदिनको सूचनालाई स्वीकार गरें । दिउसो विद्यार्थी भाइ वहिनी र शिक्षक साथीहरुको सहयोगमा विद्यालय हाता वरिपरिको विरुवाहरु गोडमेल गर्दै विद्यार्थी भाय वहिनीहरुलाई सामान्य मिठाई खुवाएँ । म संस्थागत विद्यालयमा समेत सामान्य आवद्ध रहेको मान्छे भएकोले साँझपख मण्डनदेउपुर, पाँचखाल र भुम्लु गरी ३ पालिकाको साझा संस्था–पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशनका साथीहरुले संगै बसेर चिया खाने कार्यक्रम आयोजना गर्नु भएकोले त्यहाँ थोरै समय सहभागी भइयो । संस्थाको प्रचलन अनुरुप मायाँको चिनो सहित जन्मदिनको फ्रेम सहितको प्रमाण पत्र ग्रहण गरियो । कतिपय कुरामा आफ्नो मात्र कुरा सम्भव नहुँदो रहेछ । साथी भाई, घरपरिवार र इष्टमित्रको इच्छा र चाहनामा सामेल हुने बहानामा हामी हाम्रो संस्कृतिभन्दा माथी उठिरहेका छौं । यसले हामीलाई एकपछि अर्को गर्दै नेपाली कला, संस्कृति र मौलिकताभन्दा माथी धकेलिरहेको छ । त्यसो हुनु राम्रो होइन । शुभकामना र शुभेच्छा आदान प्रदान गर्न पश्चिमा संस्कृतिको वढावा दिनु पर्दैछ । एक आपसमा सामान्य ढंगलेपनि शुभेच्छच प्रकट गर्न सकिन्छ । त्यसै गर्ने गरौं । प्रत्येक दिन मनाइने जन्मोत्सवको प्रत्येक प्रत्येकमा हार्दिक हार्दिक शुभकामना सहित !