युवा संघमा समानान्तर कमिटी बनाउने राईलाई निलम्बन गर्न सिफारिस

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सह–संयोजक सञ्जीव राईलाई निलम्बनको सिफारिस गरिएको छ ।

संगठनको नवौं महाधिवेशनका लागि भन्दै राईको अध्यक्षतामा १ भदौमा समानान्तर कमिटी घोषणा गरिएको थियो ।

युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो ।

राईले विधान विपरीत अराजनीतिक काम गरेको भन्दै साधारण सदस्यता समेत नरहनेगरी निलम्बनका लागि केन्द्रीय कमिटीसमक्ष अनुरोध गरिएको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जानकारी गराएका छन् ।

केसी अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।

तर, खनाल पक्षमा समानान्तर कमिटी बनाएका राई पक्षका महासचिव भेयाराज शाहले भने यो निर्णयको प्रतिवाद गरेका छन् ।

शाहले अवैधानिक कमिटीले संगठनका नेतृत्व र कार्यकर्ताहरूलाई बद्खाइ गरी पार्टी आन्दोलनलाई कमजोर पार्ने हर्कतहरू गरिरहेको आरोप लगाएका छन् ।