बनेपा बुडोल क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकद्वारा वृक्षारोपण

धुलिखेल/राष्ट्रिय युवा संघ नेपाल, काभ्रे जिल्ला कमिटीले आयोजना वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नयाँ निर्वाचित कमिटीले पहिलो औपचारिक कार्यक्रम आयोजना गरेको हो ।

पार्टी जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना र संगठनका केन्द्रीय सदस्य तथा आर्थिक विभाग उपप्रमुख मिलन सागर लामा विशेष अतिथिका रूपमा सहभागी थिए । पार्टी जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, उपसचिव रत्नकुश रञ्जितकार, पार्टीका प्रदेश र जिल्ला तहका नेता तथा पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु लगायतका युवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी युवाले विभिन्न स्थानमा सयौं बिरुवा रोपेका छन् । उनीहरूले सडक किनार र सार्वजनिक जमिनमा वृक्षारोपण गरेका थिए । बिरुवा संरक्षण गर्न स्थानीय टोलसँग सहकार्य गर्ने योजना बनाएको छ । अध्यक्ष सिबी तामाङका अनुसार वृक्षारोपण कार्यक्रम केवल बिरुवा रोपेर सीमित नभई, यसलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाइनेछ । रोपेका बिरुवालाई हुर्काएर रुख बनाउन जिम्मेवारी पनि भएकाले युवा संघले यसको नियमित अनुगमन गर्ने उनले बताए ।

प्रमुख अतिथी जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले वातावरण संरक्षणलाई केवल नारामा सीमित नराखी व्यवहारमै उतार्नु पर्ने बताए । आजको वृक्षारोपण हाम्रो भोलिको जीवनसँग प्रत्यक्ष जोडिएको बताउँदै हरियाली कायम गर्न सकेनौं भने भविष्यमा पुस्ताले कठिनाइ भोग्ने अध्यक्ष भुर्तेलले बताए ।

नेपालमा पछिल्लो वर्षमा वन क्षेत्रमा केही सुधार भए पनि वन अतिक्रमण, दाउरा निर्भरता, द्रुत शहरीकरण र सडक निर्माणका कारण हरियालीमा चुनौती बढिरहेको छ । यस्ता अवस्थामा युवाहरूले अग्रसर भएर वृक्षारोपण अभियानलाई निरन्तरता दिनु महत्वपूर्ण मानिन्छ । कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै युवा संघ जिल्ला कमिटी अध्यक्ष सिबी तामाङले भने यो अभियान सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै संघले आगामी दिनमा काभ्रेका विभिन्न पालिकामा यस्तै कार्यक्रम गर्ने योजना बनाएको छ । प्रत्येक पालिकामा कम्तिमा १ हजार बिरुवा रोप्ने दीर्घकालीन लक्ष्य लिइएको जिल्ला कमिटीले जनाएको छ । हामीले रोपेका बिरुवालाई केवल रोपेर छाड्ने होइन, हेरचाह गर्न तर्फ समेत ध्यान दिनेछौं, अध्यक्ष तामाङले बताए ।