तीज गीत-नृत्य मात्र होइन, आत्म-अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वलाई केवल गीत-नृत्यको उत्सवका रूपमा मात्र सीमित नराखी यसको गहिरो सांस्कृतिक र आध्यात्मिक महत्त्व बुझ्न आग्रह गरेका छन् । तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग जोडिएको बताए ।

‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ,’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भने, ‘तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’

उनले तीजको सांस्कृतिक पक्षलाई सतही रूपमा मात्र नबुझ्न आग्रह गर्दै यसको ऐतिहासिक र पारिवारिक महत्त्वमाथि प्रकाश पारे । प्राचीन परम्पराको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सुरुमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको उल्लेख गरे । ‘समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो,’ उनले भने, ‘अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् ।’

संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको बताउँदै प्रधानमन्त्रीले यसको वैज्ञानिक पक्षबारे पनि चर्चा गरे । पछिल्लो समय विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउने तथ्यलाई स्वीकार गरेको उनको भनाइ थियो ।

आफ्नो शुभकामना सन्देशको अन्त्यमा उनले तीजले नेपाली समाजको मौलिकता बोकेको बताए । ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्,’ प्रधानमन्त्रीले भने, ‘सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !’