ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापति बन्दै
ईश्वरी न्यौपानेले संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी छन्। उनको पार्टी नेपाली कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णयसँगै उनले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन्।
संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको विषयमा छानबिन गर्न कांग्रेसका सहमहामन्त्री जीवन परियारको समितिले सभापति रामहरि खतिवडालाई नैतिकतामा प्रश्न उठाउँदै जिम्मेवार ठहर्याएको थियो।
त्यसपछि खतिवडाले राजीनामा दिएका थिए। रिक्त सभापति पदमा आज मनोनयन हुँदैछ। आजै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा न्यौपानेको नाममा सहमति जुटेको थियो।






