एमाले विधान महाधिवेशनः नारा तय, सुझाव संकलन जारी
नेकपा एमालेले विधान महाधिवेशनको नारा तय गरेको छ। भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनको लागि नारा तय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ हुनेछ।
विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।






