भवितव्य दुर्घटना न्यूनीकरणमा ‘आधारभुत जीवन रक्षा’
डा. सम्झना बस्नेत
सह–प्राध्यापक तथा संयोजक, आधारभूत जीवन रक्षा, धुलिखेल अस्पताल
आधारभूत जीवन रक्षा के हो ? यो कस्का लागि किन आवश्यक छ ?
आधारभूत जीवन रक्षा आम समुदायले बुझ्नुपर्ने कुरा हो । जीवनको मृत्यु जुनसुकै बेला जहाँ पनि हुन सक्छ । यस्तो अवस्थामा हामीले जीवन रक्षाको उपायहरु अपनाउन सक्यौ भने यसबाट बच्न सकिन्छ । धुलिखेल अस्पतालले विगत ३/४ वर्षदेखि मात्र हैन पहिले देखि नै आधारभुत रक्षाका बारेमा कार्य गर्दै आइरहेको छ । यो जीवन रक्षा हामी समुदायमा बस्ने जो सुकैको लागि अपरिहार्य छ । यसले मृत्युबाट फर्काउँदै पुरानै अवस्थामा ल्याउने काम गर्दछ । भवितव्य दुर्घटनालाई न्यूनीकरण गर्ने काम गर्दछ ।
प्राथमिक स्वास्थ्य सेवा र आधारभूत जीवन रक्षा उस्तै उस्तै हुन् ?
सुन्दा हेर्दा उस्तै उस्तै लागेतापनि फरक छ । प्राथमिक चाहिँ आधारभूत पछि आउने कुरा हुन् । आधारभूत मा चाहिँ जीवन रक्षाकै कुरा पहिलो चरणमा आउँछ । कोहि व्यक्ति अकस्मात बाटोमा ढलेको अवस्थामा त्यसको राम्रोसँग चेकजाँच गर्नु के कारण भएको छ सो पत्ता लगाउनु र उसको जीवनको रक्षा गर्नु पहिलो कुरा हो । त्यसपछि मात्र प्राथमिक स्वास्थ्यका कुरा आउँछ ।
हरेक प्रकृतिका रोगलाई आधारभूत जीवन रक्षाले कत्तिको ज्ञान दिन सक्छ ?
हरेक रोगको अन्तिम अवस्था भनेको नै मुटु बन्द हुने अवस्था हो । कुनै पनि विरामी बेहोस छ भने हाम्रो पहिलो काम भनेको उक्त विरामीलाई चाँडोभन्दा चाँडो सिपिआर दिनु हो । यो चाहिँ जुनसुकै ठाउँमा पनि हुन सक्छ । यसले मुटुको चाल के कस्तो अवस्थामा रहेको छ पत्ता लाग्छ । मुटु कुन अवस्थामा बन्द हुन्छ भन्ने कुरा हामी सबैले पनि जान्न सक्छौं । यो एक महिनाको तालिमबाट पनि थाहा पाउन सकिन्छ । यसको लागि पूर्व अस्पतालको अवधारणा पनि आएको छ । यसको लागि धेरै फड्को मार्नुपर्ने अवस्था छ ।
पछिल्लो समय मुटुरोगका विरामी बढ्दो क्रममा रहेको छ ? यसलाई न्यूनीकरण गर्न आधारभूत जीवन रक्षाले कसरी भूमिका खेल्छ ?
पहिलो त कुनै विरामीको मुटु रोकिएको जस्तो लाग्यो भने १०२ मा फोन गर्छाैं । जुन निःशुल्क छ । यो धुलिखेल अस्पतालको डिस्पाच सेन्टरमा कल उठ्छ । जहाँ तालिम प्राप्त स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । केहि समस्या परेमा हामीले उहाँहरुलाई कल गर्छाैं । हामी फोन मार्फत विरामीको आफन्तसँग कुराकानी गर्छाैं । विरामीको अवस्था बुझिसकेपछि एम्बुलेन्स नआइपुग्दासमेतको समय उहाँहरुले निर्देशन गर्नुहुन्छ । मुटु बन्द नै भएको अवस्थामा हामीले तत्काल सिपिआर दिनु पर्ने हुन्छ । किनभने शरीरको हरेक अंगमा अक्सिजन पु¥याउने काम भनेको मुटु नै हो । यदि मुटु नै बन्द भएको अवस्थामा शरीरको प्रत्येक अंगमा अक्सिजन प्रवाह हुँदैन र शरीरको अन्य अंगले समेत काम गर्न सक्दैन । यसको लागि मुटुको गतिलाई फर्काउनुपर्ने हुन्छ । यसको लागि डक्टर र नर्स नै चाहिन्छ भन्ने छैन । यसको लागि तालिम प्राप्त जो कोहिले पनि गर्न सक्छ । हामीले हरेक महिनाको १५ गते सिपिआरको १ दिने तालिम दिने गरेका छौं । यसमा जो कोहिले पनि भाग लिन सक्नुहुनेछ । यसले तत्काल मुटु बन्द भएको अवस्थामा के गर्ने भन्ने कुरा थाहा पाउन सकिन्छ । प्रभावकारी सिपिआरले बिरामीलाई नयाँ जीवन दिन सक्छ ।
सिपिआर तालिम कहाँ र कसले लिन पाउँछ ?
हामीले २०१५ देखि नै अस्पतालको स्किल डेभलपमेन्टको लागि तालिम दिँदै आइरहेका छौं । त्यसका अलावा समुदयमा पनि गर्दै आइरहेका छौं । हामीले पछिल्लो समय सञ्जीवनी र काभ्रे मावि पनौतीका शिक्षकहरुलाई पनि तालिम दियौं । त्यसैगरी चितवनको थाहा नगरपालिका अन्तर्गत विभिन्न समुदायमा गई तालिम दियौं । पछिल्लो समय यसको माग बढ्दै गइरहेको छ । र यो सबैलाई आवश्यक भएको कुरा पनि हो । अझै केहि क्षेत्रमा जाने हाम्रो योजना रहेको छ । हामी यसलाई विस्तारै सबै क्षेत्रमा लैजाने छौं ।
समुदायमा आधारभूत जीवन रक्षाको प्रभाव कत्तिको छ ?
पछिल्लो समय समुदायका नागरिकहरु अलि सचेत भएको पाइएको छ । यसमा नेपाल सरकारले पनि केहि गर्नुपर्छ जस्तो लाग्छ मलाई । मुटु बन्द भएको अवस्थामा सिपिआर त छँदैछ तर पनि जटिल अवस्थामा एईडी मेसिनको आवश्यकता पर्दछ । यसमा नेपाल सरकारको पनि सहयोग भएमा राम्रो हुने थियो ।
१०२ नम्बर मुटुरोग सँग सम्बन्धित विरामीका लागि मात्र हो कि आम नागरिकका लागि पनि हो ?
यो सबैका लागि प्रयोग गर्न सकिने नम्बर हो । १०२ मार्फत आवश्यक जानकारी र एम्बुलेन्स पनि पठाउन सकिन्छ । एम्बुलेन्सको हकमा विरामीको नजिकको स्थानमा जुन एम्बुलेन्स उपलब्ध छ त्यहाँबाट नै सेवा प्रदान गरिन्छ । त्यसैगरी उपचारका लागि धुलिखेल अस्पताल नै आउनुपर्छ भन्ने पनि छैन । विरामीको अवस्था अनुसार नजिकैको अस्पतालमा पनि उपचार गर्न सकिन्छ । विरामीको अवस्था हेरेर उपचार गर्नु पर्छ । यहिँ नै लानु पर्छ भन्ने छैन । यसकारण १०२ सबैका लागि साझा नम्बर हो । सबैले प्रयोग गर्न पाउनुहुनेछ । सेवा लिन सक्नु हुनेछ ।
समुदायमा आधारीत तालिमको शुल्क के कसरी छ ?
हामी न्यूनतम् शुल्कमा तालिम प्रदान गर्छौं । यसको लागि ठूलो बोझ उठाउनुपर्ने छैन । तालिम लिनु र दिनु ठूलो कुरा हो । सहभागिता ठूलो कुरा हो । ज्ञान हासिल गर्नु ठूलो कुरा हो ।
अन्त्यमा
हामीले तालिमहरु संचालन गर्दै आइरहेका छौं । यसमा जो सुकै पनि सहभागी हुन सक्नुहुनेछ । यो तालिम तपाई र तपाईको समुदायलाई प्रभावकारी हुनेछ । यसको लागि धुलिखेल अस्पतालको वेभसाईटमार्फत पनि जानकारी लिन सक्नुहुनेछ । आधारभूत जीवन रक्षा सबैका लागि आवश्यक छ । १ दिनको तालिममा सबैजना सहभागी हुन अनुरोध गर्दछु । केहि समस्या आइपरे १०२ मा सम्पर्क गर्नहुन अनुरोध गर्दछु ।
प्रस्तुतीः लोकबहादुर थापा





