देशभर बदली : यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह
काठमाडौं/ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी, लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
समग्रमा, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दा, पहाडी क्षेत्रमा यात्रा गर्ने तथा तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ ।






