बनेपा १२ र १४ मा प्रमाणित भयो लम्पी स्किनको संक्रमण, सचेत रहन अपिल

बनेपा/गत वर्ष जिल्लामा मात्रै करिव १ हजार ५ सय पशु मारेर भयावह बनेको लम्पी स्किनको संक्रममण यो वर्ष पनि देखिन थालेको छ । पछिल्लो समय बनेपा नगरपालिका वडा नम्वर १२ र १४ मा प्रमाणीत भई सकेको छ भने धुलिखेल, पाँचखाल र मण्डनदेउपुरमा देखा परिसकेको छ । तर लम्पी स्किनका कारण यो वर्ष पशुहरुको निधन भने भएको छैन ।

‘गत वर्ष खोप लगाएका पशुहरुमा लम्पी स्किनको संक्रमण कम देखिएको छ । खोप नलगाएको तथा अन्यत्रबाट जिल्ला भित्र्याएका पशुहरुमा संक्रमण देखिएको छ’–पशु सेवा कार्यालय काभ्रेका अधिकृत उद्धवप्रसाद सापकोटाले भने–‘हरेक वर्ष पशुहरुमा खोप लगाउने हो भने संक्रमण हुन पाउँदैन । यो वर्ष अभियान स्वरुप सप्ताहब्यापी कार्यक्रम सकिएको छ । काभ्रे र सिन्धुपाल्चोकमा गरी १५ हजार पशुमा खोप लगाई सकिएको छ ।’ अघिल्लो वर्ष १ लाख भन्दा धेरै पशुहरुमा खोप लगाईएको थियो ।

२५ भाईल डोजको खोप एउटैमा हुने भएकाले कृषकहरुको सामुहिकतामा खरिद गरेर लगाउन सकिने गरी बजारमा सहज रुपमा खोप उपलब्ध छ । प्रति डोज १ सय ५० रुपैया जतिमा खोप लगाउन सकिने भएकाले सरोकारवालाहरुले आफ्ना पशुहरु सुरक्षित राख्न हरेक वर्ष लम्पी स्किन विरुद्धको खोप लगाउन कृषकहरुलाई अनुरोध गरेका छन् । बागमती प्रदेश सरकार र स्थानीय सरकारले पनि लम्पी स्किन विरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखेका छन् ।

गत वर्ष काभ्रेपलाञ्चोक जिल्लामा मात्रै लम्पी स्किनको संक्रमणबाट १२ सय ७४ पशु मरेका थिए । २०८१ साउन २१ गतेसम्म ९ सय ३२ वटा गाई, १ सय ५५ वटा गोरु, १ सय ८७ वटा बाच्छाबाच्छी र ४ वटा भैंसी मरेको पशु सेवा कार्यालयले जानकारी गराएको थियो । त्यस पछि पनि केहि सय पशुहरु मरेको कार्यालयले जानकारी दिएको छ । काभ्रेमा जम्मा २८ हजार ६ सय ५६ पशु संक्रमित भएका थिए ।