श्रीमान र घर परिवारका कारण छोरीको निधन भएको भन्दै माईती पक्षद्वारा अस्पताल परिसरमा श्रीमानलाई कुटपिट
बनेपा/श्रीमतीलाई मारेको भन्दै माईती पक्षले अस्पताल परिसरमा नै श्रीमानलाई कुटपिट गरेका छन् । बनेपा स्थित शिरमेमोरियल अस्पतालमा उपचारका क्रममा पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट निवासी ३० बर्षिया असली तामाङको निधन भएको छ ।
उनलाई भदौ १० गते अस्पताल ल्याईएको थियो । विष सेवन गरेको फेला पारे पछि छिमेकीले उनलाई अस्पताल पु¥याएको माईती पक्षले बताएको छ । घर परिवार र उनका श्रीमान विजय भ्लोनको चरम लार्पवाही, वेवास्ता र यातनाका कारण उनको निधन भएको माईती पक्षको आरोप छ । केहि महिना अघि मात्रै विजय भ्लोनले श्रीमती असलीलाई कुटपिट गरी शरिर भरी निलडाम भएको थियो । माईती पक्षले घरमा नै पुगी सम्झाई बुझाई गरि फर्किएको एक महिना नवित्दै घटना भएको उनिहरुले बताएका छन् ।
अस्पताल ल्याएको दुई दिनसम्म पनि माईती पक्षलाई घर परिवारले सूचना नदिएका कारण उनिहरुकै मिलेमत्तोमा विष खुवाईएको हुन सक्ने भन्दै अस्पताल परिसरमा श्रीमान विजयलाई कुटपिट गरेका हुन् । उनिहरुको कुटपिटबाट विजय भ्लोन सामान्य घाईते भएका छन् । प्रहरीले दुबै समुहलाई नियन्त्रणमा लिई घटनालाई सामान्य बनाएको थियो । मृतक असलीको पोस्टमार्टम भएको छैन ।






