मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ गतेसम्म गर्ने चीन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्नेछन्। उनले त्यहाँ शाङ्घाइ सहयोग संगठन(एससी)ओ को शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ। भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ।

सेप्टेम्बर १ मा तियानजिनमा आयोजना हुने ‘एससीओ प्लस समिट’ लाई सम्बोधन गर्ने कार्यक्रम पनि प्रधानमन्त्रीको तालिकामा समावेश छ। शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य मुलुकका नेताहरूसँग समेत द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, जापानी उपनिवेशविरुद्धको विजय दिवसको ८०औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा समेत ओली सहभागी हुनेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायतको सहभागिता रहनेछ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।