रुसी राष्ट्रपति पुटिनसँग प्रधानमन्त्री ओलीको भेट पक्का, मोदीसँगको भेट अझै टुङ्गिएन
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को हप्ता भेटवार्ता हुने भएको छ। चिनियाँ महानगर तियान्जिनमा हुने सांघाई कोअपरेसन संगठन (एससीओ) शिखर सम्मेलन र लगत्तै बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को विजयोत्सवमा रुसी राष्ट्रपति पुटिन र प्रधानमन्त्री ओली दुवै सहभागी हुँदै छन्।
यसमध्ये पुटिन–ओली भेटवार्ता बेइजिङमा वा तियान्जिनमा हुने भन्ने टुंगो लागेको छैन। तर, एससीओ शिखर सम्मेलनमा सहभागी रुस र नेपालका दुई शीर्ष नेताबीच तियान्जिन वा बेइजिङमा भेटवार्ता हुने पक्का भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
‘राष्ट्रपति पुटिनसँग भेटवार्ताका लागि गरिएको प्रयासमा रुसी पक्षले सकारात्मक जवाफ दिएको छ,’ भ्रमणको तयारीमा संलग्न मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘तर, कहिले र कहाँ भेट हुने भन्ने कुरा भने यकिन हुन बाँकी नै छ।’
भदौ १५–१५ ९अगस्ट ३१– सेप्टेम्बर १० मा तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सदस्य राष्ट्रको राष्ट्राध्यक्षका हैसियतमा सहभागी हुँदै छन्। प्रधानमन्त्री ओली पनि ‘एससीओ’ को डायलग पार्टनर (संवाद साझेदार)का रुपमा सो शिखर सम्मेलनमा निम्त्याइएका छन्।
एससीओ शिखर सम्मेलन समापनपछि एससीओ राष्ट्रका अधिकांस शीर्ष नेताहरु ३ सेप्टेम्बर (१८ भदौ) मा तियानमेन स्क्वायरमा आयोजना हुने विशाल सैन्य परेडसहितको समारोहमा सहभागिताका बेइजिङ प्रस्थान गर्नेछन्।
सो सैन्य परेड ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध‘ मा विजयको ८०औं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको हो।
बेइजिङस्थित नेपाली राजदूतावास स्रोतका अनुसार तियान्जिन शिखर सम्मेलनमा सहभागी हुने सबै राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुलाई द्रुत गतिको रेल (हाइस्पिड ट्रेन) मा बेइजिङ पुर्याउने योजना चीनले बनाएको छ।
रुसी राष्ट्रपति पुटिन तियानमेन स्क्वायरमा आयोजना हुने विशाल सैन्य परेडसहितको समारोहको प्रमुख अतिथि हुनेछन्। यसैगरी उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनपनि पुटिनसँगै प्रमुख अतिथिका रुपमा सो समारोहमा सहभागी हुनेछन्।
अतिथिका रुपमा सहभागी हुनेगरी प्रधानमन्त्री ओलीले सो समारोहमा सहभागिताको निमन्त्रणा प्राप्त गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गर्ने सो समारोहमा पुटिन, किम जोङ–उन, ओली लगायत २६ राष्ट्रका शीर्ष नेता प्रमुख अतिथि र अतिथि रहनेछन्।
‘एससीओ’ मा आवद्ध राष्ट्र नभएकाले उत्तर कोरियाली नेता किम जोङ–उन तियान्जिन शिखर सम्मेलनमा सहभागी हुने छैनन्। उनीसँग प्रधानमन्त्री ओलीको भेटघाटको कार्यसूची यो समाचार तयार पार्दासम्म बनेको छैन।
तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि सहभागी हुँदै छन्।
‘एससीओ’ को सदस्य राष्ट्रका रुपमा प्रधानमन्त्री मोदी सहभागी भएपनि बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को विजयोत्सवमा भने उनी सहभागी हुने छैनन्।
मोदीको बेइजिङ जाने कार्यक्रम नभएकाले उनीसँग प्रधानमन्त्री ओलीको तियान्जिनमै भेटवार्ताका लागि प्रयास जारी राखिएको छ। तर, मोदीसँग भेटवार्ता हुने–नहुने यकिन अझै भएको छैन।
तर, प्रधानमन्त्री ओली अर्को महिना भारत भ्रमणमा जाने भएकाले संक्षिप्त भएपनि तियान्जिनमै ओली–मोदीबीच भेट हुने आशामा परराष्ट्र मन्त्रालयका अधिकारीहरु छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने प्रधानमन्त्री ओलीको तियान्जिनमै भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले विहीबार (१२ भदौ) मा जारी गरेको विज्ञप्तीमा उल्लेख छ। चिनियाँ उपराष्ट्रपति हान झेङ्गसँग भने प्रधानमन्त्री ओलीको भेटवार्ता बेइजिङमा १७ भदौ (२ सेप्टेम्बर) हुने बताइएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उल्लेख गरेअनुसार राष्ट्रपति सी र उपराष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा ओली सहभागी हुनेछन्।
अधिकारीहरुका अनुसार अन्य दुई राष्ट्रका राष्ट्र प्रमुखहरुसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ताको टुङ्गो लागि लागेको छ। तिनीहरुमा भियतनामका राष्ट्रपति लुओङ कुङ र लाओसका राष्ट्रपति थोङलुन सिसौलिथ छन्।
भियतनाम र लाओस दुबै दक्षिण–पूर्वी एसियका कम्युनिष्ट मुलुक हुन्। यसमध्ये लाओस विश्वमा सशस्त्र विद्रोहमार्फत् पूर्ण रुपमा कम्युनिस्ट सत्ता स्थापना गर्न (सन् १९७५) सफल अन्तिम राष्ट्रका रूपमा चिनिन्छ।
कम्बोडियाका राजा नरोद्दम सिहामोनीसँग समेत भेटवार्ताको सम्भावना रहेको स्रोतहरुले बताएका छन्।
एससीओ शिखर सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे काठमाडौँबाट तियान्जिन प्रस्थान गर्दैछन्।






