चामुण्डा धिमे बाजा खलःले गर्‍यो पाँच महिने प्रशिक्षण समापन

by | भदौ १४, २०८२

चामुण्डा धिमे बाजा खलःले गर्‍यो पाँच महिने प्रशिक्षण समापन

नाला, बनेपा/बनेपा नगरपालिका वडा नम्वर ३ मा स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने उदेश्यले चामुण्डा धिमे बाजा खलःको आयोजनामा संचालन भएको धिमे बाजा प्रशिक्षण समापन भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संयोजक गौतम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

नगर प्रमुख शान्तिरत्न शाक्यले नाला भगवती तथा चामुण्डा र अन्य क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व लक्षित संस्कृति प्रर्वद्धन गर्ने कार्यक्रम तथा पर्व र सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार साथमा रहने बताए । नाला क्षेत्रमा शुरु भएको धिमे बाजाको संरक्षण, प्रर्वद्धन र विकासका लागि बनेपा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख शाक्यले बताए । वडा अध्यक्ष रमेश दाहालले स्थानीय स्तरमा शुरु भएको धिमे बाजा संरक्षण अभियान संस्कृति र सम्पदाको जगेर्ना भएको बताए । वडा स्तरमा भएका यस्ता कला, संस्कृति र सम्पदाको संरक्षणमा वडा कार्यालयले समन्वय गर्ने उनले बताए ।

संयोजक गौतम श्रेष्ठले ५ महिना लामो धिमे बाजा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई धन्यवाद दिदै अभियानमा जोडिएका स्थानीय सरकार तथा विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरे । हरेक पर्व र संस्कृतिमा आवश्यक हुने धिमे बाजाको शुरुवातीले स्थानीय स्तरमा संचालन भएका पर्वहरुको संरक्षणमा झनै महत्व बढ्ने उनले बताए । प्रशिक्षणको समापनका क्रममा प्रशिक्षार्थीहरुले धार्मिक परम्परा अनुसार नालामा रहेको उग्रचण्डी भगवती मन्दिर देखि चामुण्डा मन्दिरसम्म बैदिक विधी अनुसार पुजापाठ र ¥याली आयोजना गरेका थिए ।

सहभागिहरुलाई नगर प्रमुख शान्तिरत्न शाक्य र वडा अध्यक्ष रमेश दाहाल लगायतले प्रमाणपत्र वितरण गरेका थिए । प्रशिक्षकत्रय रुपेक देउला, रोशन देउला र विकुल देउलाले २०८१ चैत्र २४ देखि निरन्तर हरेक दिन २ घण्टा धिमे बाजा सम्वन्धी प्रशिक्षण दिएका थिए । रविनसन श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा १६ जना सहभागि थिए । सम्पदाको रुपमा रहेको धिमे बाजाको शुरुवातीले स्थानीयहरुमा पर्व र संस्कृतिमा नयाँ पुस्ताको सहभागिताले सम्पदाहरुको संरक्षणमा सहयोग पुग्ने बताए ।