बढिरहेको छ बसाई सराई र सम्वन्ध विच्छेद
तस्वीर: एआईबाट
मोतीराम तिमल्सिना
धुलिखेल
चौरीदेउराली गाउँपालिकाका नागरिकहरु अधिकांश पालिका बाहिर बस्छन् । जनगणनाको पछिल्लो तथ्यांकले पनि अस्थायी बसोबासीहरुको संख्या उक्त पालिकाको हकमा धेरै छ । तर आर्थिक वर्ष २०८०/२०८१ को तथ्यांकले भन्छ स्थायी रुपमा बसाईसराई गर्ने परिवारको संख्या ४ मात्रै छ । काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरूमा आव २०८०/८१ मा दर्ता भएका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइका तथ्यांकहरूले समाजको बदलिँदो स्वरूपलाई स्पष्ट देखाएको छ ।
उक्त वर्ष बसाईसराई गरी जाने परिवारहरुको सँख्या बेथान्चोकमा धेरै भयो । बेथान्चोक गाउँपालिकाबाट बसाईसराईमा १ सय ४९ परिवारले विवरण दर्ता गराए । बेथान्चोक पछि खानीखोला गषउँपालिकाबाट बसाईसराई गर्नेको संख्या धेरै छ । उक्त पालिकाबाट १ सय ४७ जनाले बसाईसराई गराए । शहरी क्षेत्र पनौती, बनेपा, पाँचखाल, धुलिखेल, नमोबुद्धमा जन्म र मृत्यु दुवै उच्च छन्, विवाहको संख्या ठूलो छ तर सम्बन्ध विच्छेद पनि बढ्दो छ । ग्रामीण क्षेत्र चौरीदेउराली, खानीखोला, बेथान्चोक, भुम्लु, महाभारतमा बसाइँसराइ बढी छ, जनसंख्या स्थिर छैन । विवाह स्थिर देखिए पनि भविष्यमा श्रमशक्ति बाहिरिने चिन्ता छ । संक्रमण क्षेत्र रोशी, मण्डनदेउपुरमा विवाह र सम्बन्ध विच्छेद दुवै मध्यम छन् । बसाइँसराइ पनि मध्यम स्तरमा छ । तथ्यले काभ्रेमा विकाससँगै सामाजिक चुनौती पनि बढ्दै गएको स्पष्ट देखाउँछ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ अनुसारका सेवाहरु पालिकावासीलाई प्रदान गर्दछ । जन्म, मृत्यु, बसाईसराई, विवाह दर्ता, सम्वन्ध विच्छेद दर्ता, नागरिकता सिफारिस, घरबाटो सिफारिस, नाता प्रमाणीत, विद्यूत्त मिटर लगायतका विभिन्न सिफारिसहरु निशुल्क तथा शुल्क लिएर उपलब्ध गराउनेछन् ।
पनौतीमा १ हजार ६० जन्म र ४ सय ७१ मृत्यु दर्ता भएका छन् । पनौतीको जनसंख्या अझै वृद्धिमुखी रहे पनि मृत्यु दर पनि उच्च रहेको देखाउँछ । ५ सय ३२ विवाह दर्ता भएको छ भने ५९ सम्बन्ध विच्छेद दर्ता हुनु सामाजिक जीवनशैलीमा बदलिँदो मनोविज्ञानको संकेत हो । बसाइँसराई १ सय १२ मध्यम स्तरमा भए पनि शैक्षिक, व्यापारिक र ऐतिहासिक महत्वले मानिसलाई बस्न तानेको देखिन्छ । पनौती छाडेर अन्यत्र जानेहरुको संख्या पनि त्यत्तिकै छ ।
चौरीदेउराली गाउँपालिकामा ८ सय ८५ जन्म र २ सय ९२ मृत्यु दर्ता भएका छन् । बसाइँसराइ भने ४ मात्र छ, जसले यो पालिका अपेक्षाकृत स्थिर बसोबास भएको देखाउँछ । ४ सय ४२ विवाह दर्ता भएको छ भने ४४ सम्बन्ध विच्छेदले ग्रामीण भेगमा समेत वैवाहिक जीवन अस्थिर बन्न थालेको संकेत दिन्छ ।
खानीखोला गाउँपालिकामा ६ सय बालबालिकाको जन्म भए पनि मृत्यु १ सय ५ तुलनात्मक रूपमा न्यून छ । तर बसाइँसराइ १ सय ४७ भएकोले धेरै मानिस यहाँबाट बाहिर गएका छन् । १ सय ५६ को विवाह दर्ता र १३ जनाको सम्बन्ध विच्छेद मात्र दर्ता भएकाले विवाह संस्था अझै स्थिर देखिन्छ । बसाइँसराइको उच्च दरले भने युवाशक्ति रोजगारी र सुविधाको खोजीमा बाहिरिन बाध्य भएको देखाउँछ ।
नमोबुद्ध नगरपालिकामा ७ सय ५६ जन्म र ३ सय ३ मृत्यु दर्ता भएको छ । बसाइँसराइ १ सय ३८ छ । यो उच्च दर हो । जसले शहर र बाहिर दुवै तर्फ आकर्षण बढेको देखाउँछ । ३ सय ९४ विवाह भए पनि ६१ सम्बन्ध विच्छेद छ । जसले आधुनिक जीवनशैलीको प्रभाव गहिरो देखाउँछ ।
धुलिखेल नगरपालिका जिल्लाको प्रशासनिक केन्द्र हो । धुलिखेलमा ५ सय ७४ जन्म र २ सय ७३ मृत्यु दर्ता भएका छन् । बसाइँसराइ ३७ मात्रै भएकाले यहाँ स्थायित्व बढ्दो देखिन्छ । ३ सय ४० को विवाह दर्ता भए पनि ४१ वटा सम्बन्ध विच्छेद आधुनिक जीवनशैलीसँग जोडिएको सामाजिक यथार्थ हो ।
पाँचखाल नगरपालिकामा ९ सय ६१ को जन्म र ३ सय ४३ को मृत्यु दर्ता भएको छ । बसाइँसराई १ सय ४ रहेको छ । ४ सय ४३ वटा विवाह दर्ता भएका छन् भने ५१ वटा सम्बन्ध विच्छेद भएको छ । पाँचखाललाई शहरीकरण र सामाजिक रूपान्तरणको केन्द्र मान्न सकिन्छ ।
बनेपामा ८ सय २२ को जन्म भएको भने ३ सय ३८ को मृत्यु दर्ता भएको छ । बसाइँसराइ १ सय ३६ रहेको छ । ४ सय ५० विवाह दर्ता भए पनि ४७ जनाले सम्बन्ध विच्छेद गरेका छन् । शहरी क्षेत्रमा वैवाहिक जीवन अस्थिर भइरहेको देखाउँछ । बनेपा व्यापारिक केन्द्र भएकाले बसाइँसराइ उच्च हुनु स्वाभाविक हो ।
बेथान्चोकमा ४ सय ७० बालबालिकाको जन्म भएको छ । बसाइँसराईमा भने १ सय ४९ दर्ता भएको छ, जुन जिल्लामै सबैभन्दा बढी हो । यसले गाउँबाट बाहिरिने दर उच्च भएको संकेत गर्छ । २ सय १५ विवाह र १८ वटा सम्बन्ध विच्छेदले ग्रामीण जीवन अझै स्थिर देखाउँछ तर बसाइँसराइले खाली बस्तीको सम्भावना देखाउँछ ।
भुम्लु गाउँपालिकामा ७ सय ३६ जन्म र २ सय ९३ जनाको मृत्यु दर्ता भएको छ । बसाइँसराइ ५७ परिवारले गरेका छन् । ३ सय ४७ वटा विवाह दर्ता भए पनि २९ वटा सम्बन्ध विच्छेद भएका छन् । जीवनस्तर सुधार भए पनि वैवाहिक संरचना क्रमशः बदलिँदै गएको देखिन्छ ।
मण्डनदेउपुरमा ७ सय ९६ जन्म र २ सय ८५ वटा मृत्यु दर्ता भएको छ । बसाइँसराइ ५८ रहेको छ । ४ सय ४२ वटा विवाह दर्ता भए पनि ३५ वटा सम्बन्ध विच्छेद भएका छन् । विवाहको उच्च दर र बसाइँसराइको मध्यम दरले यहाँ जनसंख्या स्थिर रहने देखिन्छ ।
महाभारत गाउँपालिकामा ५ सय ४२ जन्म र ९८ वटा मृत्यु मात्र दर्ता भएका छन् । विवाह दर्ता १ सय ७२ भएको छ र सम्बन्ध विच्छेद ७ मात्र । यसले महाभारतमा जीवन अपेक्षाकृत ग्रामीण, परम्परागत र स्थिर देखाउँछ ।
रोशीमा ९ सय ७७ जन्म र ३ सय ३९ मृत्यु दर्ता भएका छन् । बसाइँसराइ ९० वटा दर्ता भएका छन् । ४ सय ५८ विवाह र ४५ वटा सम्बन्ध विच्छेद दर्ता भएका छन् । यो पालिका शहरी–ग्रामीण संक्रमणको अवस्थामा छ ।
तेमाल गाउँपालिकामा जन्म दर्ता ९ सय १२ छ । तथ्यांक अनुसार पालिकामा जनसंख्या वृद्धिको दर देखाउँछ । मृत्यु दर्ता २ सय ९० छ । जन्मको तुलनामा निकै कम छ, जसले सकारात्मक जनसंख्या सन्तुलन देखाउँछ । बसाईसराई दर्ता १ सय ३९ छ । विवाह दर्ता ३ सय ८६ छ । यो सक्रिय सामाजिक जीवनको सूचक हो । सम्बन्ध विच्छेद दर्ता ३३ छ । जुन विवाह दर्ताको करिब ८.५% बराबर छ । काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८०/२०८१ मा पञ्जिकरण तर्फ दर्ता भएका घटनाहरुले समग्र जिल्लाको विकास निर्माणलाई समेत झस्काउन बाध्य बनाउँछ ।
पञ्जिकरण: काभ्रेपलाञ्चोकका एक वर्ष
जन्म दर्ता सबैभन्दा धेरै पनौतीमा १ हजार ६० जनाको दर्ता भएको छ भने सबैभन्दा कम बेथान्चोकमा ४ सय ७० जनाको दर्ता भएको छ । यो तथ्याङ्कले जिल्लामा जनसंख्या वृद्धिदर अझै पनि सकारात्मक रहेको देखाउँछ । जिल्लामा मृत्यु दर्ता ३ हजार ६ सय २ जनाको दर्ता भएको छ । सबैभन्दा धेरै पनौतीमा ४ सय ७१ र सबैभन्दा कम महाभारतमा ९८ जनाको मृत्यु दर्ता भएको छ । मृत्यु दर्ता सशक्त भए पनि जन्म दर्ता भन्दा निकै कम छ, जसले जनसंख्या सन्तुलन वृद्धि देखाउँछ ।
बसाईसराई दर्ता सबैभन्दा धेरै १ सय ४९ जनाको बेथान्चोकमा देखिएको छ । तेमालमा १ सय ३९ र खानीखोलामा १ सय ४७ रहेको छ । सबैभन्दा कम चौरीदेउराली ४ रहेको छ । बसाइँसराइमा पालिकागत असमानता छ । विवाह दर्ता सबैभन्दा धेरै पनौती ५ सय ३२ र सबैभन्दा कम महाभारतमा १ सय ७२ रहेको छ । विवाह दर्ता उच्च हुनु समाजमा कानूनी सचेतना बढेको सङ्केत हो । सम्बन्ध विच्छेद ४ सय ८३ भएको छ । सबैभन्दा धेरै नमोबुद्धमा ६१, सबैभन्दा कम महाभारतमा ७ जनाको दर्ता भएको छ । विवाह दर्ताको तुलनामा सम्बन्ध विच्छेद करिब १० प्रतिशत रहेको छ, जसले सामाजिक संरचना र पारिवारिक सम्बन्धमा परिवर्तन झल्काउँछ ।
आर्थिक वर्ष २०८०/२०८१ को एक वर्षको अवधीमा जिल्लामा १० हजार ९१ बालबालिकाहरुको जन्म दर्ता भएको छ । ३ हजार ६ सय २ नागरिकको मृत्यु दर्ता भएको छ । १ हजार २ सय १५ को बसाईसराई र ४ हजार ७ सय ७७ को विवाह दर्ता भएको छ । ४ सय ८३ जनाले सम्वन्ध विच्छेद गराएका छन् ।





