माओवादी अध्यक्ष प्रचण्डले संगठन सुदृढीकरणमा जोड

 काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक मजबुतीका लागि पार्टीभित्र आत्मसमीक्षा र जनसम्पर्क विस्तारलाई प्राथमिकतामा राख्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले हाल पार्टीले जनतामाझ आंशिक विश्वास पुनः प्राप्त गरेको भए पनि त्यसलाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्न संगठन सुदृढ पार्नु अपरिहार्य रहेको बताए ।

उनले भने, “गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा सक्रिय हुनुपर्छ। आलोचना–आत्मालोचनाको संस्कृतिलाई संस्थागत गर्दै विगतका कमजोरीहरूमाथि गम्भीर पुनरावलोकन गर्ने समय आएको छ।”

पार्टी सरकारमा रहँदा हासिल गरेका उपलब्धि, पछिल्ला खबरदारी अभियान र जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिले माओवादीप्रति फेरि सकारात्मक जनभावना बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई अब सशक्त संगठनात्मक संरचनामा परिणत गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार आगामी निर्वाचनतर्फ अघि बढ्न संगठन निर्माणलाई नै प्रमुख अभियान बनाउनुपर्ने आवश्यकता छ। सुदूरपश्चिमलाई राजनीतिक र संगठनात्मक दृष्टिले माओवादी केन्द्रका लागि महत्त्वपूर्ण सम्भावनायुक्त प्रदेश भन्दै उनले त्यहाँका नेता–कार्यकर्तालाई योजनाबद्ध र व्यवस्थित ढंगले परिचालित गर्न निर्देशन दिए ।

बैठकमा उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले प्रदेशस्तरीय रणनीति, संगठन विस्तार र स्थानीय तहसम्मको पहुँच सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए ।