बसमा नगद र मोबाइल चोरी गरेर भाग्ने पकेटमार बनेपाबाट पक्राउ
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, सेतोपाटी अगाडि डि मोर्डन आयल स्टोर स्थित को अरनिको राजमार्गमा आइतबार बेलुकी ६ बजे बसमा भएको पकेटमारी घटनामा संलग्न एक जना पक्राउ परेका छन्।
मण्डनदेउपुर–७ गैराथोकका हर्कबहादुर तामाङ पनौतीबाट काठमाडौँ जाँदै गर्दा उनी चढेको भाडाको बसमा हाल रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका–७ बसोबास गर्ने २८ वर्षीय अर्जुन तामाङले ब्लेड प्रयोग गरी उनको कोटको दाहिने भित्री गोजी काटी २४ हजार २ सय चोरी गरेका थिए।
घटनापछि पीडित तामाङले ‘पैसा चोरी भयो’ भनेर बसभित्रै गुहार मागेपछि आरोपी बसबाट भागेका थिए। सूचना पाएसँगै खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त नगदसहित एक थान वान प्लस मोबाइल (सिम कार्ड प्रयोग नभएको) र एक थान पहेंलो रङको अफ भएको कीप्याड मोबाइल फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अर्जुन तामाङलाई कानुन बमोजिम पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






