नेपाल ‘ए’ ले असामविरुद्धको टी–२० शृङ्खला ३–२ ले जित्यो
काठमाडौं/नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको असामविरुद्धको पाँच खेलको टी–२० शृङ्खला ३–२ को अन्तरले जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
गुवाहाटीमा भएको अन्तिम तथा पाँचौं खेलमा नेपाल ‘ए’ ले असामलाई ४४ रनले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले ६ विकेटको क्षतिमा २०८ रनको ठूलो योगफल तयार पार्यो। जवाफी इनिङ्समा असामले ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
बिहीवारदेखि सुरू भएको शृङ्खलामा पहिलो खेल डकवर्थ–लुइस पद्धति अनुसार नेपाल ‘ए’ १५ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले ९६ रनको विशाल जित हात पार्यो। तेस्रो खेलमा ९ रनले जित हात पार्दै नेपालले अग्रता बनायो। तर चौथो खेलमा असामले १८ रनले जित निकाल्दै शृङ्खला २–२ को बराबरीमा पुर्याएको थियो।
निर्णायक खेलमा शानदार जित दर्ता गर्दै नेपाल ‘ए’ ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भयो।






