दसैँका लागि खाद्य संस्थाको नयाँ सुविधा : आजदेखि अनलाइनबाट खसीबोका बुकिङ सुरु

काठमाडौं/ दसैँ नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्राको अनलाइन बुकिङको सुविधा सुरु गरेको छ। आज (भदौ १७ गते) देखि उपभोक्ताले घरमै बसेर अनलाइनमार्फत पशु बुकिङ गर्न सक्नेछन् ।

कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार यो सेवा विशेषगरी दसैँलाई लक्षित गरेर सुरु गरिएको हो। बुकिङका लागि प्रयोगकर्ताले कम्पनीको अनलाइन प्रणालीमा गई खसीबोका वा च्यांग्रा चयन गरेर रकम तिर्नुपर्नेछ ।

खसीबोकाको बुकिङका लागि अग्रिम ४,००० रुपैयाँ र च्यांग्राको लागि ५,००० रुपैयाँ अनलाइनमार्फत ९इसेवा वा खल्ती० तिर्न सकिनेछ। भुक्तानीपछि प्राप्त हुने कोड नम्बर देखाएर उपभोक्ताले आफ्नो बुकिङ अनुसारको पशु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले बुकिङको आधारमा पशु खरिद तथा व्यवस्थापन गर्नेछ। यद्यपि, हाललाई पशुको मूल्य निर्धारण गरिएको छैन। पौडेलका अनुसार, मूल्यमा अघिल्लो वर्षको तुलनामा धेरै अन्तर नपर्ने अपेक्षा गरिएको छ ।

एक व्यक्तिले ५ देखि १० वटा पशुसम्म बुकिङ गर्न सक्नेछन्। साथै, बुकिङ गर्दा आफूले कुन मितिमा पशु लिन चाहेको हो भन्ने विवरण अनलाइनमै उल्लेख गर्नुपर्नेछ ।