जुत्ता बनाउँदै पहिचान खोजेकी पनौतीकी रिता
गोमा थापा
पनौती नगरपालिका–७ की रिता कर्मचार्यले एउटा पुरानो सामाजिक मान्यता तोडेकी छन् । समाजमा प्रचलित ‘जुत्ता बनाउने पेसा एउटा निश्चित जातको मात्र हो’ भन्ने धारणा उनले आफ्नै जीवनमार्फत तोडेर देखाइन् । आज उनी छालाका जुत्ता–चप्पल उत्पादनमा सफल मात्र छैनन्, यो पेसा सबै जात, समुदाय र लिङ्गका मानिसले गर्न सक्छन् भन्ने सशक्त उदाहरण पनि बनिसकेकी छन् ।
“सीप र सिर्जना कुनै जात र समुदायको हुँदैन,” उनी भन्छिन्, “जसले गरेर जीवन धान्न सकिन्छ, त्यही पेसा गर्नु पर्छ।” झन्डै एक दशकअघि सरकारी निकायमार्फत उपलब्ध हुने तालिमहरू – सिलाइकटाइ, ब्युटीपार्लर, चिप्स उत्पादन जस्ता विषयमा प्रशिक्षण हुने गर्दथ्यो । तर रिताले यी तालिमले उनको जीवनयापनमा खासै सहयोग गर्ने देखिनन्। त्यसैले उनले भिन्न सोच बनाइन् ।
भक्तपुर र काठमाडौंमा महिलाले जुत्ता–चप्पल बनाइरहेको देखेकी रिताले यही क्षेत्रमा हात हाल्ने निर्णय गरिन्। केही साथीलाई समेत मन बुझाएर उनले धुलिखेलस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा प्रस्तावना बुझाइन्। सुरुमा कर्मचारीले नपत्याए पनि धेरै करकापपछि मात्र तालिम लिन सहमति भयो।
भक्तपुरबाट प्रशिक्षक बोलाएर उनीहरूले एक महिनासम्मको तालिम लिए। त्यसपछि पाँच दिदीबहिनी मिलेर संयुक्त रूपमा लेडिज जुत्ता–चप्पल उत्पादन सुरु भयो।
व्यवसाय सुरुवाती दिनमै राम्रो चले पनि पारिवारिक कारणले उनी निरन्तर रूपमा सहकार्यमा टिक्न सकिनन्। तीन वर्षसम्म पाँच जना मिलेर काम गरेपछि उनले घरमै बसेर एक्लै काम गर्ने निर्णय गरिन्।
घरमा जुत्ताको सोल काट्दै–घोट्दै गर्दा सासुससुरा, जेठाजु–जेठानी सबै छक्क परे। “तिम्ले यस्तो काम पनि गर्छ्यौ र ? ” भन्ने तिरस्कारपूर्ण प्रश्नले उनलाई रोक्ने प्रयास भयो। बिक्रीकक्षका लागि घरकै सटर प्रयोग गर्न त पाए तर, “काम त भित्र कोठामै गर, बाहिर देखियो भने इज्जत जान्छ” भन्ने सुझाव पनि सुनिन्।
तर रिता विचलित भइनन्। बरु १२ वर्षे पनौती मकरमेलामा खुलेर जुत्ता–चप्पल प्रदर्शनी गरिन्। मेलामा सबैले देख्नेगरी काम गर्दा उनले आफ्नो पहिचान अझ प्रस्ट पाएकी अनुभूति गरिन्।
रिता अहिले जुत्ता–चप्पल उत्पादन मात्र गरिरहेकी छैनन्, दर्जनौँ ठाउँमा तालिम दिन पुगिसकेकी प्रशिक्षकसमेत बनेकी छन्। “मनदेखि मन पराएर काम गर्न सके सफल भइन्छ,” उनी भन्छिन्। जुत्ता बनाउने महिलाहरूलाई व्यवसाय विस्तारमा पनि सहयोग गर्ने उनको योजना छ।
उनको हातको सीपले उनलाई आज आत्मनिर्भर र सक्षम बनाएको छ। सामाजिक सञ्जाल टिकटक अकाउन्टमार्फत जुत्ता–चप्पलका अर्डर आउने, प्रशंसा पाइने क्रम बढेको छ। यसले उनको हौसला अझ बढाइदिएको छ।
रिताको संघर्षले देखाउँछ—काम सानो वा ठूलो हुँदैन, सोच ठूलो हुनुपर्छ। जुत्ता–चप्पल जस्तो पेसा पनि प्रतिष्ठासँग गर्न सकिन्छ भन्ने विश्वास उनले जगाएकी छन्। सामाजिक मान्यता भत्काउँदै उनले आफूलाई आत्मनिर्भर मात्र होइन, अरूलाई पनि सीप सिकाउने प्रेरणादायी प्रशिक्षकको रूपमा स्थापित गरेकी छन्।
भिडियो हेर्नुहोस् :






