प्रचण्ड–माधवको बाक्लियो भेटवार्ता
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । आज पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महासचिव देव गुरुङ लिएर नेकपा एसको कार्यालय आलोकनगर पुगे ।
बैठकमा नेकपा एसका तर्फबाट अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी थिए। दुई पार्टीका शीर्ष नेताहरुबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले बताए ।
उनले दुई पार्टीबीच मात्रै नभएर मोर्चामा आबद्ध रहेका दलहरूबीच वैचारिक एकता गर्नमा आफूहरू केन्द्रित रहेको बताए ।
पछिल्लो समय प्रचण्ड र माधव नेपाल पार्टी एकतालाई केन्द्रित बनाएर निरन्तर संवादमा छन् । अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न नरम भएपछि सम्मानित नेता खलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनी पक्षधर नेताहरू विपक्षमा छन् ।






