रसाइलीको जन्मदिनमा बिपन्न परिवारलाई आर्थिक सहयोग

बेथानचोक/ बेथानचोकका राजिव रसाइलीले आफ्नो छोरा आर्यमन रसाइलीको जन्मदिनको अवसर पारेर आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग प्रदान गरेका छन्। राजिब रसाइलीले रु.१५ हजार सहयोग रकम बेथानचोक–६ निवासी राजु पराजुलीको परिवार र सीता पाख्रीनलाई वितरण गरिएको हो ।

राजु पराजुली विगत एक वर्षदेखि बत्तीको पोलमा काम गर्ने क्रममा गम्भीर रूपमा घाइते भई कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा छन्  । उनकै छोरी बिनिता पराजुली र छोरा बिनायक पराजुलीको शैक्षिक सामग्री खरिदका लागि रु.८,००० उपलब्ध गराइएको छ ।

त्यसैगरी, आत्मविकास कक्षा ६ मा अध्ययनरत सीता पाख्रीनलाई ७ हजार प्रदान गरिएको छ, जसले उनको शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस सहयोग कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइवाले सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गर्दै भने- “हामी जनप्रतिनिधि चम्किने, टल्किने भनेकै हजुरहरूजस्ता सहयोगी हातहरूको कारण हो। यस्ता मनकारी हातहरूसँग निरन्तर सम्बन्ध राख्न चाहन्छौं र फेरि–फेरि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।”
स्थानीयस्तरमा यस्ता मानवीय सहयोगहरूले समुदायमा सकारात्मक सन्देश फैलाउने मात्र होइन, आवश्यक सहयोग पाउनुपर्ने व्यक्तिहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने वडा अध्यक्ष वाइवाले बताए ।