नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि
काठमाडौं /नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा सुरु हुने भएको छ। महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्।
नेपाल पर्यटन बोर्ड र नेपाल कला परिषद्को संयुक्त आयोजनामा तथा काठमाडौं उपत्यकाका चार महानगरपालिकाको सहकार्यमा हुने महोत्सव असोज १० गतेसम्म जारी रहनेछ।
परिषद्को भनाइअनुसार मुलुकको सांस्कृतिक धरोहर र विशिष्ट वैभवलाई चित्रकलामार्फत प्रस्तुत गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। यसमा प्रख्यात चित्रकारहरूको कलाकृति प्रदर्शनीमा राखिनेछ।
इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौं उपत्यकाका सम्पदा, कला र संस्कृतिलाई उजागर गर्ने विभिन्न सामग्री पनि प्रदर्शनीमा समावेश गरिने परिषद्ले जनाएको छ।






