यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले यसको प्रभावले देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

हाल बागमती प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। नदीतटीय क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जालमा अपडेट रहन पनि आग्रह गरिएको छ।