दर्ता नभएका प्लेटफर्म वर्ल्डलिंक इन्टरनेबाट अवरुद्ध

काठमाडौं / वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभएका (सूचीकरणमा नपरेका) सामाजिक सञ्जालहरू अब आफ्ना इन्टरनेट सेवामार्फत प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक विज्ञप्तिमार्फत कम्पनीले अदालतको आदेश, सरकारको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार यो कदम चालेको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् अब प्रयोग गर्न नसकिनेछ।”

दूरसञ्चार प्राधिकरणको निर्देशन अनुरूप वर्ल्डलिंकले सूचीकृत बाहिरका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय लिएको हो। यसले प्रयोगकर्ताहरूलाई अब नेपालमा आधिकारिक रूपमा सूचीकरण नगरिएका सामाजिक सञ्जालहरू प्रयोग गर्न कठिन हुनेछ।