एमालेको विधान महाधिवेशन आज सकिँदै

काठमाडौं / नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ  । महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक तथा विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि छलफल गर्न गठन गरिएका १० वटा समूहले आजै आफ्नो समूहगत सुझाव पेस गर्दैछन् ।

समूहगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहित सम्बन्धित प्रस्तावकहरूले दिने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन महाधिवेशनमा पेस गरेका थिए ।

त्यस्तै, समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन पनि महाधिवेशनमा पेस गरिने भएको छ ।

राजनीतिक र समसामयिक प्रस्ताव पारित भएसँगै महाधिवेशन समापन हुने जनाइएको छ। पार्टीको नीति तथा विधि तय गर्न गत शुक्रबारदेखि सुरु भएको महाधिवेशन आज औपचारिक रूपमा टुंग्याउने तयारी गरिएको छ ।