आज राति खग्रास चन्द्रग्रहण, नेपालबाट सहजै देख्न सकिने
काठमाडौं / आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ ।
यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन । आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषशास्त्रीहरुले बताएका छन् ।
सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।






