भोलि काठमाडौँमा विरोध प्रदर्शन गर्दै ‘जेन–जी’

‘जेन–जी’ (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्ता) ले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।

नेप्लिज स्टुडेन्ट्स फर जस्टिसको आयोजनामा भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिने भएको हो।

सोमबार बिहान ११ बजे हुने प्रदर्शनका विषयमा उक्त पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन्।

सोमबार विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरिएको छ।

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम, रोजगारी सिर्जनालगायत माग उनीहरूले राखेका छन्।

उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने पनि उल्लेख गरेका छन्।

आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी सहभागी हुने उनीहरूको भनाइ छ।

जेन–जीलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर(नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन–जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।

काठमाडौंंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले पनि जेन जीहरू आएको पुष्टि गरे ।