गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास, भरतपुर महानगरपालिकामा तोडफोड

जेन जीको प्रदर्शनका कारण काठमाडौंसहित देशका विभिन्न स्थान तनावग्रस्त बनेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ । यता, जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।

प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।
सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् ।