काठमाडौंसहित देशका चार जिल्लामा कर्फ्यु

भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएका ‘जेन–जी’ समूहको सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित चार जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ।

काठमाडौं उपत्यका
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल क्षेत्र आसपास कर्फ्यु आदेश लागू गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम आदेश जारी गर्दै प्रशासनले तोकिएको क्षेत्रमा भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न नपाउने जनाएको छ।

प्रशासनले कर्फ्यु क्षेत्रको सीमा यसरी निर्धारण गरेको छ:

  • पश्चिम: बानेश्वर चोकदेखि एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म

  • पूर्व: मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म

  • उत्तर: आइप्लेक्स मल हुँदै रत्नराज्य विद्यालयसम्म

  • दक्षिण: शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म

सुनसरी – इटहरी
प्रदर्शन उग्र बनेपछि इटहरीमा पनि दिउँसो ३:३० बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यु जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार, कर्फ्यु क्षेत्र यस्ता छन्:

  • उत्तर: नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चौक

  • पूर्व: मिलन चौकदेखि जुटविकास

  • दक्षिण: अख्तियार कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प हुँदै बसपार्क

  • पश्चिम: कलंकी मोडदेखि जनता बस्ती

कास्की – पोखरा
पोखरामा ‘जेन–जी’ समूहले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। तोकिएको क्षेत्रमा पाँचजनाभन्दा बढी भेला हुन, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
कर्फ्यु क्षेत्र:

  • पूर्व: वाईचोक

  • पश्चिम: फिस्टेल गेट

  • उत्तर: मालपोत कार्यालय

  • दक्षिण: राष्ट्र बैंक क्षेत्र

रुपन्देही – बुटवल र भैरहवा
बुटवल र भैरहवामा आन्दोलन चर्किएपछि सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले चारकिल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका छन्।

बुटवलमा कर्फ्यु सीमा:

  • पूर्व: धागो कारखाना पुल

  • पश्चिम: बेलबास चोक

  • उत्तर: चिडिया खोला

  • दक्षिण: मंगलपुर

भैरहवामा कर्फ्यु सीमा:

  • पूर्व: रोहिणी खोला पुल

  • पश्चिम: बेथरी पुल

  • उत्तर: बुद्ध चोक

  • दक्षिण: मेउडिहवा

साथै, बुटवल–बेलहिया व्यापारिक मार्गको दायाँ–बायाँ १०० मिटरभित्र कुनै पनि किसिमको सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाइएको छ।