कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा
काठमाडौं / कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका अधिकारी आज (भाद्र २३) पदबाट हट्ने निर्णयमा पुगेका हुन्।
अधिकारी कांग्रेसभित्र शेखर कोइराला समूहका नेता हुन्। कोइरालाले आफ्ना पक्षधर मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएलगत्तै अधिकारीले पदबाट राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा उनले लोकतन्त्रको पक्षमा उभिनुपर्ने बेला सरकारले गरेको दमन र बल प्रयोगलाई अस्वीकार गर्दै आफू सरकारमा बसिरहनु अनुचित भएको उल्लेख गरेका छन्। अधिकारीले लेखेका छन्, “साना कलिला छोराछोरीहरूको शान्तिपूर्ण आन्दोलनमा दमन हुँदै गरेको देख्दा सरकारमा बसिरहन मेरो नैतिकता सहमत भएन।”
उनले सरकारको अलोकतान्त्रिक कदमप्रति घोर आपत्ति जनाउँदै तत्काल लागू हुने गरी पदबाट राजीनामा दिने घोषणा गरेका छन्। साथै, जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको सर्वोच्च मूल्य भन्दै मुलुकले असहिष्णुताबाट चाँडै निकास पाओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।






