रिहाइपछि रवि लामिछानेको पहिलो अपिल: आन्दोलनमा संयमता अपनाउन आग्रह

by | भदौ २४, २०८२

रिहाइपछि रवि लामिछानेको पहिलो अपिल: आन्दोलनमा संयमता अपनाउन आग्रह

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हाल जारी आन्दोलनको सन्दर्भमा सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् जारी एक अपिलमा आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, राष्ट्रिय सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

“यो आन्दोलन शुद्ध रूपमा जेनजीको हो,” लामिछानेले लेखेका छन्, “अब देशको नेतृत्व जेनजीको माग र परिकल्पनाअनुसार अगाडि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु।”

उनले आन्दोलनमा सहभागी नागरिकलाई प्रहरी, सुरक्षा निकाय, न्यायालय तथा अन्य संवेदनशील दस्तावेज र संरचनाको सुरक्षा गर्न आग्रह गरेका छन्। “यी राष्ट्रका अत्यन्त महत्वपूर्ण सम्पत्ति हुन्, जसको नास मुलुकका लागि गम्भीर क्षतिको कारण बन्न सक्छ,” उनले भने।

देश लुट्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै लामिछानेले उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग पनि दोहोर्याएका छन्।

साथै, उनले सरकारबाट कानुनी प्रक्रिया पूरा गरेपछि आफू कारागारबाट मुक्त भएको स्पष्ट पार्दै, भविष्यमा आवश्यक सबै कानुनी प्रक्रिया सामना गर्न तयार रहेको बताएका छन्।

“एक सचेत नागरिकका रूपमा म सबैलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु,” लामिछानेले अपिलमा उल्लेख गरेका छन्।