अभिनेता हमालको आग्रह : "राष्ट्रको सम्पदा नास नगरौं, जेनजीको आन्दोलनमा सबैको साथ छ"
काठमाडौं / अभिनेता राजेश हमालले जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै राष्ट्रको संरचना र सम्पदाको संरक्षण गर्न आग्रह गरेका छन्।
हिजो (आठ सेप्टेम्बर) शहीद भएका युवाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले पछिल्लो घटना नेपालको इतिहासकै एक कालो दिन भएको टिप्पणी गरे।
“आठ सेप्टेम्बर नेपालको कालो दिन हो। पाँच–छ घण्टाको अन्तरालमै १९ देखि २२ वर्ष उमेरका युवाहरू विभत्स रूपमा मारिए,” उनले भने, “जेनजीले उठाएको मुद्दामा हामी सबैको साथ छ। तर राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन। त्यसैले तिनको सुरक्षा गर्नु सबैको दायित्व हो।”
हमालले आन्दोलनमा सहभागी युवाहरूको आक्रोश अहिलेको मात्रै नभई वर्षौंदेखिको संचित असन्तुष्टि भएको उल्लेख गर्दै, सामाजिक सञ्जाल प्रतिबन्ध (ब्यान) त केवल एउटा बहाना मात्रै भएको बताएका छन्।
“हामी सबैलाई आफ्नो देश प्यारो छ,” भन्दै उनले आन्दोलन शान्तिपूर्ण र उद्देश्यप्रति केन्द्रीत रहन अपिल गरेका छन् ।






