काठमाडौं–भक्तपुरमा लुटपाट प्रयास, नेपाली सेनाद्वारा २१ जना पक्राउ

काठमाडौं/अराजक गतिविधि नियन्त्रणका लागि परिचालित नेपाली सेनाले राजधानी काठमाडौं र भक्तपुरमा लुटपाटको प्रयासमा संलग्न २१ जनालाई पक्राउ गरेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, भक्तपुरको राधे राधे क्षेत्रमा रहेको भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने समूहलाई मंगलबार राति नियन्त्रणमा लिइएको हो।

दिनभर भएका प्रदर्शनहरूपछिको राति सम्भावित उच्छृंखल गतिविधि रोक्न सेनाको टोली विभिन्न स्थानमा परिचालन गरिएको थियो। सोही क्रममा ती युवाहरूलाई पक्राउ गरिएको जनाइएको छ।

सेनाले नागरिकहरूलाई कुनै पनि प्रकारको उच्छृंखल वा आपराधिक गतिविधि देखेमा तत्कालै हटलाइन नम्बर ९८६३०२९०२९ मा व्हाट्सएप वा भाइबरमार्फत् सन्देश पठाउन अनुरोध गरेको छ।

यस्तै, टोल र छिमेकमा यस्ता गतिविधि देखा परेमा सुरक्षा निकाय पुग्नुअघि स्थानीयवासी एकजुट भई निरन्तर निगरानी राख्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ।