जेनजी प्रदर्शनका घटनाप्रति भारतीय प्रधानमन्त्रीको प्रतिक्रिया : शान्ति कायम राख्न आग्रह
काठमाडौं/नेपालमा पछिल्ला दिनमा भइरहेको हिंसात्मक घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन्। मङ्गलबार दिनभरको भ्रमणपछि बसेको भारतको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको स्थिति बारे छलफल भएको जानकारी दिँदै मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री मोदीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफू अत्यन्तै व्यथित भएको बताएका छन्। उनले लेखेका छन्, “नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन दुःखी छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्तै महत्वपूर्ण छ ।”
उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई संयमता अपनाउन र शान्ति–व्यवस्था कायम राख्न आग्रह गरेका छन् ।






