सिंहदरबार र सर्वोच्च अदालतको डाटा सुरक्षित

जेन जी प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा भने सुरक्षित रहेको छ ।

सिंहदरबारभित्र रहेको विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्क (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय कम्प्युटर इन्जिनियर दीपेन्द्र रौनियारले जानकारी दिए ।

आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआरसी (डिजास्टर रिकभरी केन्द्र) पनि पूर्णतः सुरक्षित रहेको रौनियारले बताए। नेपाली सेना र स्थानीयवासीले पनि सुरक्षा दिएकाले हिजोको आगजनीको प्रयासबाट सुरक्षित रहेको उनको भनाइ छ ।