‘जनताको आवाज कुल्चिँदा आक्रोश विस्फोट भयो’ : प्रचण्ड
काठमाडौ/पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले आह्वान गरेको सुशासन आन्दोलनमा सहादत प्राप्त गर्ने युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
प्रचण्डले आन्दोलनमा भएको बर्बर दमन, नरसंहार तथा तोडफोड, लूटपाट र आगजनी घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेका छन्। उनका अनुसार आजभन्दा १४ महिनाअघि कांग्रेस–एमालेले सुरु गरेको “असंवैधानिक र अप्राकृतिक गठबन्धन” ले नै जनआक्रोश चुलिएको हो।
उनले सरकार जनताको आवाज सुन्नुको साटो सामाजिक सञ्जाल प्रतिबन्ध र दमनमा उत्रिँदा जेन(जी पुस्ताका युवामाथि भयानक नरसंहार भएको आरोप लगाए। प्रचण्डको भनाइमा, संसद भवनदेखि सिंहदरबार, राष्ट्रपति निवासलगायत संरचनामा भएको तोडफोड, लूटपाट र आगजनी आन्दोलनकारी युवाले गर्ने खालका गतिविधि होइनन्, यी घटनामा अन्य अवाञ्छित तत्वको घुसपैठ छ।
उनले आफ्नो पार्टीले निरन्तर भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदलाई मन्त्री बन्न नदिने तथा उच्चपदस्थ नेताको सम्पत्ति छानबिन गर्ने अधिकारसम्पन्न आयोग गठन गर्ने पक्षमा उभिएको स्मरण गराए। जेन(जी पुस्ताले पनि यही मुद्दा उठाएकोमा प्रचण्डले गर्व व्यक्त गरे।
जनयुद्धदेखि शान्ति प्रक्रियासम्मको यात्रा स्मरण गर्दै उनले लोकतान्त्रिक गणतन्त्र ठूलो बलिदानका आधारमा प्राप्त भएको बताए। संविधान जारी गर्ने बेला माओवादी केन्द्रले राखेका फरक मत—प्रत्यक्ष कार्यकारी, थप अधिकार सुनिश्चितता, सम्पत्ति छानबिन आयोग—समेत अहिले जनताको आक्रोशको मूल कारण बनेको उनको ठहर छ।
प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्र भएको स्पष्ट पारे। जेन(जी पुस्ताले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिने भन्दै उनले आन्दोलनलाई सकारात्मक रूपमा लिएका छन्।
अन्त्यमा उनले राष्ट्रपति, नेपाली सेना र सुरक्षा निकायको सहजीकरण प्रयासको प्रशंसा गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ र संवादमार्फत शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन्।






