जेन–जी आन्दोलनः काभ्रेका दुई युवाको ज्यान गयो

जेनजी प्रदर्शनका क्रममा काभ्रेका दुई युवाले ज्यान गुमाएका छन् । भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री र तेमाल–७ काल्धार घर भई ललितपुरको पाटनमा बस्दै आएका ४२ बर्षीय दिलनारायण तामाङको मृत्यु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको उनले बताए । मंगलबार दिउँसो जेनजी प्रदर्शनका क्रममा गंगा दाहालको घरमा आगजनी गरिएको थियो।

यस्तै जेनजीको प्रदर्शनका क्रममा काभ्रे तेमालका दिलनारायण तामाङको मृत्यु भएको छ । मजदुरी गरेर डेरामा फकिँदै गरेका तेमाल–७ काल्धारका तामाङलाई काठमाडौंमा प्रहरीले प्रहार गरेको गोली लागेको हो । घाइते भएका तामाङको उपचारको क्रममा एभरेष्ट अस्पतालमा मृत्यु भएको हो । उनी पाटनमा डेरामा बसेर पेन्टिङ लगायतमा ज्यालामजदुरी गर्दथे । उनका ११ र १४ वर्षीय दुई छोरा छन् ।