जेनजी आन्दोलनमा मृत्यु भएकाको शव परिवारलाई हस्तान्तरण सुरु

काठमाडौँ / जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ। महाराजगञ्जस्थित मेडिकल क्याम्पसमा परीक्षण सम्पन्न भएका शव क्रमशः सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया सुरु भएको हो।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार देशभर प्रदर्शनमा संलग्न रहँदा हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये प्रहरीसँगको झडपमा महाराजगञ्ज प्रहरी वृत्तका २ जना र कोटेश्वर प्रहरी प्रभागका १ जनाको ज्यान गएको छ। त्यस्तै, प्रहरीको बल प्रयोगका कारण २१ प्रदर्शनकारीको मृत्यु भएको घिमिरेले जानकारी दिए।

यसका साथै आगजनी, भीडभाडमा भागदौड र करेन्ट लाग्ने घटनाका कारण थप १८ जनाले ज्यान गुमाएका छन्।