भारतद्वारा नेपालको अन्तरिम सरकार गठनको स्वागत
काठमाडौं / नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी राष्ट्र भारतले स्वागत जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो समर्थन व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “हामी नेपालमा सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गर्छौं। यस पहलले देशमा शान्ति र स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास हामीलाई छ।”
भारतले नेपाललाई नजिकको छिमेकी, लोकतान्त्रिक मित्र राष्ट्र र दीर्घकालीन विकास साझेदारको रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ। उसले नेपाल र नेपाली जनताको समृद्धि तथा हितका लागि सहकार्य जारी राख्ने उल्लेख गरेको छ ।






