राजिनामा दिएका धुलिखेलका उपप्रमुख र पनौती १० का वडा अध्यक्ष के गर्छन् होला ?
धुलिखेल/धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम र पनौती नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले पदबाट राजिनामा दिएका छन् । जंगम र भण्डारी दुबै जना दोश्रो पटक निर्वाचित जनप्रतिनिधि हुन् ।
उपप्रमुख जंगमले लेखेका छन्–‘नेपाली काँग्रेस काभ्रे जिल्ला कार्य समितिको सदस्य पद र यो संविधानबाट निर्वाचित उपप्रमुख पदबाट आजैको मितिबाट लागु हुने गरी राजिनामा दिने निर्णय गरेको छु । जय देश ।’
यो राजिनामा उनले भाद्र २४ गते मंगलबार दिएका हुन् । त्यसको चार दिन अघि जंगमले लेखेको जति छ भाग्यमा त्यति त पाईन्छ भनी, पौरखै नगर्ने मानिसको, मेटिन्छ भाग्य पनि भन्ने कविता लेखेका थिए ।
२०७९ को स्थानीय निर्वाचनको केहि दिन अघि नेकपा एमालेको वडा अध्यक्ष परित्याग गरी उनी नेपाली काँग्रेस प्रवेश गरेका थिए । काँग्रेस प्रवेश गर्नु अघि उनी एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । एमालेको वडा अध्यक्ष हुनु केहि वर्ष अघि उनी नेकपा माओवादी केन्द्रमा आवद्ध थिए ।
उता पनौती १० मा दोश्रो पटक नेपाली काँग्रेसबाट निर्वाचित मोहनबहादुर भण्डारीले लेखेका छन्–‘मेरो वडाबासी जनसमुदायमा अपिल । मलाई तपाईहरुले वडा अध्यक्ष बनाई केहि समय सेवामा रहि काम गरें । म नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेंको थिएँ । जुन उदेश्यका साथ लागेको थिएँ । त्यो पार्टीमा कुनै पनि नदेखेपछि यस पदमा बस्नु जनताको हित विपरित हुने सोचि आजकै मितिबाट वडा अध्यक्ष तथा पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा लिएको घोषणा गर्दछु । साथै सहादत प्राप्त गर्नु भएका साना भाई बहिनीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
भण्डारी २०७४ सालमा नेपाली काँग्रेस प्रवेश गरी वडा अध्यक्ष भएका थिए । त्यतिबेला पनि उनि निर्वाचित भएका थिए । दोश्रो पटक पनि उनि गठवन्धनका कारण झिनो मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस अघि उनी राप्रपामा आवद्ध थिए । नागरिकहरुलाई सर्वत्र चासोको विषय बनेको संकटमा जनप्रतिनिधिको राजिनामाले अब उनिहरु के गर्लान ? घोषित फागुन २१ को निर्वाचनमा पो उम्मेदवार बन्लान् कि ? दल त्यागेको घोषणा गरे पछि अब स्वतन्त्र वा नयाँ दल ?






