दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री अनिश्चित, सुपथ मूल्य पसल भने भोलिदेखि चल्ने
भोलि सोमबारदेखि देशभरि सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ । यद्यपी खसीबोका र च्याङ्ग्रा बिक्री भने अनिश्चित बनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् ।
तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीले यसअघि योजना बनाएका सबै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिए ।
यी सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ ।
त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।
कम्पनीले जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रहरूबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी ५ रुपैयाँ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने छ ।
चाडपर्वमा उपभोक्ताले प्रतीक्षा गर्ने खसीबोका र च्याङ्ग्रा कारोबारमा भने अनिश्चितता देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यले अहिलेको विषम परिस्थितिका कारण खसीबोका र च्याङ्ग्रा ल्याउन नसकिएकाले अन्योल छाएको बताए ।
कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको छ ।
कम्पनीले यसअघि खसीबोकाका लागि अनलाइन बुकिङ खुला गरेको थियो । सीईओ आचार्यका अनुसार करिब ४०–५० जनाले बुकिङ गरेका छन् । यदि खसीबोकाको बिक्री सम्भव नभए बुकिङ गरिएका ग्राहकको पैसा फिर्ता गरिने उनले बताए ।
खसीबोका बाहेकका अन्य उपभोग्य वस्तुको कारोबार भने नियमित र यथावत रहने छ ।






