युवाहरुको माग सम्बोधन गर्न र अराजक तत्वलाई कारबाही गर्न धुलिखेलका वडा अध्यक्षहरुको माग
धुलिखेलका वडा अध्यक्षहरुले युवाहरुको माग सम्बोधन गर्दै कानुनी राज्यको प्रत्याभुति दिलाउन माग गरेका छन् । १२ वटै वडाका वडा अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यमान संकटको समाधान गर्नु अपरिहार्य रहेको बताएका छन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै जेनजी पुस्ताले गरेको प्रदर्शनमा होनहार युवाहरुले ज्यान गुमाउनुको साथै सयौं युवाहरु घाईते भएको भन्दै वडा अधयक्षहरुले दुःख व्यक्त गरेका छन् । आन्दोलनको नाममा देशभरका राष्ट्रिय सम्पत्तिहरु, सञ्चार गृह, उद्योग व्यवसाय, प्रशासकीय केन्द्र, न्यायालय तथा व्यक्तिगत सम्पत्तिहरु माथि भएको तोडफोड, आगजनी, चोरी डकैती लुटपाट जस्ता कृयाकलाप हुनु अत्यन्त जघन्य, दुखःद र निन्दनीय कार्यको रुपमा रहेको उनीहरुको भनाई छ ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याजू श्रेष्ठको धुलिखेल स्थित घरमा जेनजी समूहको नाममा २०८२ भाद्र २४ गते राती करीव ८.०० बजेको समयमा आएका अराजक भिड तथा तत्वहरुले आन्दोलनका नाममा गरेको आगजनी, तोडफड र बर्बर आक्रमणको हामी यस नगरका वडाध्यक्षहरुले घोर निन्दा एवं भत्र्सना गरेका छन् । लोकतान्त्रिक प्रणालीको विकल्प उन्नत लोकतन्त्र नै भएको उनीहरुको ठहर छ । लोकतान्त्रिक बिधि र पद्दती मार्फत नै जेनजी पुस्ताका युवाहरुको माग सम्बोधन गर्दै विद्यमान संकटको समाधान गर्नु अपरिहार्य रहेको वडा अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस जटिल परिस्थितिमा सम्पूर्ण नगरबासीहरु र शुभेच्छुकहरुमा कुनै हतास, निरास र विचलित नहुन उनीहरुको आग्रह छ । जेनजी पुस्ताका युवाहरुको भावनालाई आत्मसाथ गर्दै लोकतन्त्रमा विश्वास राखि आत्मविश्वास र भरोसाका साथ सहज रुपमा सेवा प्रवाहमा लाग्न र सुशासनको प्रत्याभूत गर्न वडाअध्यक्षहरुले सबैमा आग्रह गरेका छन् । आक्रमण गर्ने अराजक भिड तथा तत्वहरुको खोजी गरी हदैसम्मको कार्वाही गरी कानुनी राज्यको प्रत्याभूतिको लागि वडा अध्यक्षहरुले जोडदार माग गरेका छन् ।
विज्ञप्तिः






