महान्याधिवक्तामा पहिलोपल्ट महिलालाई अवसर, वरिष्ठ अधिवक्ता सबिता भण्डारी सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि उनको नियुक्ति हुनेछ । आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो ।

सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।

नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ।

देशभकार सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्।

वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्।

उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन्।