आगजनी र तोडफोड पछि काभ्रे प्रहरीको आक्रामक सक्रियता, संलग्न धमाधम पक्राउ
ईलाका प्रहरी कार्यालय बनेपा र ट्राफिक कार्यालय अझै पुर्नस्थापित हुन सकेका छैनन । लुटेका गोलीहरु प्रहरीले धमाधम फेला पार्न थालेको छ ।
धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मातहतका युनिटहरुलाई साविककै स्थानमा फर्काउँदै आगजनी, तोडफोड तथा अन्य अपराधमा संलग्नहरुको तत्काल पहिचान, खोजतलास र पक्राउ सहित कारवाही प्रकृया अघि बढाउने गरी आक्रामक सक्रियता देखाएको छ ।
आन्दोलनका कारण विस्थापित भएका इलाका प्रहरी कार्यालय बनेपा र ट्राफिक कार्यालय बनेपा बाहेक सबै चौकीहरु पुर्नस्थापना भईसकेको सूचना अधिकारी एवं डिएस्पी मिनबहादुर घलेले जानकारी दिए । ‘आईतबार साँझसम्म बनेपाका दुई बाहेक जिल्लाका सबै युनिटहरुमा प्रहरी पुगेर कार्य सम्पादन गर्न शुरु गरिसकेको छ’–डिएस्पी घलेले भने–‘अपराधिक कार्यमा संलग्नहरुको सूचना दिन र प्रहरीलाई सहयोग गर्न स्थानीयहरुलाई अनुरोध गरेका छौं ।’ आन्दोलनको बाहनामा भएको लुटपाट, चोरी र तोडफोडमा संलग्नहरुको पहिचान सहित पक्राउ गर्ने क्रम शुरु गरेको डिएस्पी घलेले बताए ।
प्रहरीले हातहतियारको गोली राउण्ड सहित केहि ब्यक्तिहरु नियन्त्रणमा लिएको छ । २०८२ भाद्र २८ र २९ गते प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्ने क्रममा ७ सय ३० राउण्ड गोली फेला परेको र सो गोली २०८२ भदौ २४ गते ईलाका प्रहरी कार्यालय बनेपामा आगजानी गरी लिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नम्वर ९ घर भएका ३४ बर्षिय अछुत खड्का, सोहि ठेगाना भएका २६ बर्षिय सिजन सुवाल, २८ बर्षिय सुबास गौतम, बारा बनौली सखुवा ८ बस्ने २० बर्षिय ईसाक भन्ने महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने २४ बर्षिय सुशान्त लो, तेमाल गाउँपालिका वडा नम्वर २ बस्ने २१ बर्षिय तिमोथी तामाङ र रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.४ बस्ने बर्ष २३ को प्रविन कार्की रहेका छन् ।
त्यस्तै प्रहरीले भदौ २३ र २४ गते आन्दोलनका कारण कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई पक्राउ गरेको छ । फरार भएकाहरुमा कर्तव्य ज्यान अभियोगका १२, जबरजस्ती करणी अभियोगका ९, लागु औषध अभियोगका ४, चोरी अभियोगका ४, अपहरण तथा शरीर बन्धक अभियोगका २, सवारी ज्यान अभियोगका २, ओभर स्टे अभियोगका १, ठगी अभियोगका २ र मानव बेचविखन अभियोगका १ गरी ३७ जना पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय कारागारमा १८, डिल्लीबजार कारागारामा १४, नख्खुमा ३ र सिन्धुली कारागारमा २ जना पठाईएको छ ।
त्यस्तै प्रहरीले भदौ २८ गते मण्डनदेउपुर न.पा. ७ घर भई हाल बनेपा न.पा. ९ लायकु स्थित कोठा भाडामा बस्ने प्रेम बहादुर श्रेष्ठको छोरा ३४ बर्षिय सन्तोष श्रेष्ठलाई उनकै कोठाबाट कटुवा पेस्तोल १ नाल, गोली ३६ राउन्ड सहित पक्राउ गरेको छ ।
त्यस्तै स्रोत नखुलेको नगद र सुनको गरगहना सहित केहि ब्यक्ति नियन्त्रणमा लिएको छ । २०८२ भदौ २७ गते दिउसो २ बजेको समयमा नमोबुद्ध न.पा.२ भकुण्डेबेसी स्थित बि.पि.राजमार्ग सडक खण्डमा काठमाण्डौबाट सिराहा तर्फ जाँदै गरेको बा.प्र.०१– ००६ ख ९१७३ नं. को इभी गाडिलाई नेपाली सेना र नेपाल प्रहरीको सयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सोही इभी गाडीमा सवार जिल्ला सिराहा गमरिया न.पा.२ बस्ने बर्ष १८ को नरेश कुमार यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद तिन लाख पचास हजार तिन सय र सुनको गरगहना सहित नियन्त्रणमा लिएको बताएको छ ।
छडके तिलहरी ७५ लाल मुल्य एक लाख एकसठ्ठी हजार आठ सय अठासी बाह्र पैसा, मंगलशुत्र थान–१ (एक) १२.६ लाल मुल्य दुई लाख उनन्साठी हजार एकाईस रुपैया, बेरुवा औठी थान– १ (एक)६३.३ लाल मुल्य तिन लाख तिन हजार नौ सय उनासी रुपैया चौसठ्ठी पैसा, सिक्री थान ३ (तिन) २.३२ तोला मुल्य रु पाँच लाख एक हजार दुई सय पाच रुपैया त्रिसठ्ठी पैसा समेत गरी बाह्र लाख छब्बिस हजार चौरानब्बे रुपैया उनन्चालिस पैसा रुपैयाको धनमाल बरामद भएको प्रहरीले बताएको छ ।
प्रहरीले सूचना मार्फत आन्दोलनका क्रममा भएका तोडफोड र लुटपाटमा लिएर गएका सामाग्री फिर्ता गर्न आब्हान गरेको छ ।






