देशभरका १५३ ठाउँमा सुपथ पसल, विराटनगरदेखि दार्चुलासम्म सेवा
काठमाडौं / सरकारले आजदेखि देशभर १५३ स्थानमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन सुरु गरेको छ। यी पसलहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालन हुनेछन्।
सहुलियत पसलमार्फत उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो वा प्रतिलिटर पाँचदेखि १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी र चाँगुनारायणलगायत ११ स्थानमा बिक्री कक्ष राखिनेछ। साथै, तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा सेवा उपलब्ध हुनेछ।
उपत्यकाबाहिर धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, वीरेन्द्रनगर, बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, त्रिशुली, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरा लगायतका प्रमुख शहरमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्।
त्यस्तै बाजुरा, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, अछाम र दार्चुलामा समेत सहुलियत पसल खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।





